बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरमा कामको गति बढाउन उपकरण थपियो, खोलिएको ‘ट्रयाक’ फराकिलो बनाइँदै

पहिरो व्यवस्थापन गर्नेलगायत धेरै काम बाँकी, गाडी गुडाउन मिल्ने बनाउन अझै समय लाग्ने

आइतबार, भदौ २१ २०८३
कृष्णभीरमा कामको गति बढाउन उपकरण थपियो, खोलिएको ‘ट्रयाक’ फराकिलो बनाइँदै

आजदेखि भारी उपकरणहरु थप गरिएको छ। दुई एक्साभेटर थप गरेर सात पुर्‍याइएको छ। एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ।

काठमाडौं- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गसँग जोडिएको भित्तो काटेर खोलिएको 'ट्रयाक' फराकिलो बनाउन थालिएको छ।  

पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्रयाक खोलिएको हो। कृष्णभीर पुरानो पहिरोको संवेदनशील क्षेत्र भएकाले भित्ता काट्न नहुने विज्ञहरूको राय भए पनि अहिले भित्ता काटेर नै काम अघि बढाइएको छ। 

नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्रयाक खोलिएको छ।

'हिजो खुलेको ट्रयाक फराकिलो बनाउने काम सुरु गरिएको छ' उनले भने। माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन्। सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ।

भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए। उनले भने, 'अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ। निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन। अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ।'

मिश्रका अनुसार अहिले खोलिएको ट्रयाक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भएको छ।

krishnabhir.jpg

नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा-जेडआइभी जेभीले गरेको छ। कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्रयाक खोलएको हो।

'ट्रयाक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्‍याउन र कामदार आवतजावत गर्न सहज भएको छ। अहिले यो ट्रयाक निर्माण प्रयोजनका लागिमात्रै प्रयोग भइरहेको हो। सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन' उनले भने।

उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुंगा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायत धेरै काम अझै बाँकी छन्। आपत्कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ। अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उनले बताए।

आजदेखि भारी उपकरणहरु थप गरिएको छ। दुई एक्साभेटर थप गरेर सात पुर्‍याइएको छ। एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ। आवश्यकताअनुसार उपकरण थप्दै लगिने उनले जानकारी दिए।


प्रकाशित : आइतबार, भदौ २१ २०८३१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend