काठमाडौं- निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवारको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा छानिएको छ।
अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले परेका आवेदनहरूमध्ये शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
छनोटमा परेका उम्मेदवारहरूमा गुल्मीका पिताम्बर भण्डारी तथा काठमाडौंका प्रताप सुवेदी, महेश रिमाल, विक्रान्त आचार्य, समता पन्त र सुमन कुमार अधिकारी रहेका छन्।
छनोट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते अर्थ मन्त्रालय, सिंहदरबारमा आयोजना गरिनेछ।
तालिका अनुसार असोज १ गते अपराह्न ३ बजे पिताम्बर भण्डारी अन्तर्वार्ता, अपराह्न ३:४५ बजे प्रताप सुवेदीको र महेश रिमालको अपराह्न ४:३० बजे अन्तर्वार्ता तय गरिएको छ।
त्यसैगरी, असोज २ गते विक्रान्त आचार्यको अपराह्न ३ बजे, समता पन्तको अपराह्न ३:४५ बजे र सुमन कुमार अधिकारीको अपराह्न ४:३० बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।