आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेटेर अर्थतन्त्रका विविध पक्षमा विश्वसनीय समाचार सम्प्रेषण गर्दै बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकम छैटौँ वर्षमा प्रवेश गरेको छ।
देशमा निरन्तर नै अनेक विपदको श्रृंखला चलिरहँदा हामी अझ सशक्त ढंगले अघि बढ्नुपर्ने जिम्मेवारी महसुस गरेका छौँ। अप्ठ्यारा परिस्थितिमा पनि नडगमगाइ सञ्चार माध्यमले निर्वाह गर्नुपर्न भूमिकाप्रति अडिग छौँ।
पाँच वर्षको यो यात्रामा हामीले आर्थिक पत्रकारितालाई केवल घटना र तथ्य प्रस्तुत गर्ने माध्यमका रूपमा मात्र होइन नीति निर्माण, बजारको व्यवहार, निजी क्षेत्रको अवस्था र आम उपभोक्ताको दैनिक जीवनबीचको सम्बन्ध पहिल्याउने जिम्मेवारीका रूपमा बुझेका छौँ।
हामी सरकारलाई झकझकाउँदै सार्वजनिक वृत्तमा सकारात्मक प्रभाव पार्ने खालको ठोस नतिजा ल्याउन प्रभावकारि पत्रकारितामा निरन्तर लागिरहने छौँ। हामीले उठान गरेर निचोडमा पुर्याएका विषयवस्तुका साथै समग्र समाचार सामग्रीमा पाठकहरूको साथ र हौसलाले बिजनेस न्युजलाई नेपालको आर्थिक पत्रकारितामा मूलधारका रुपमा उभ्याउन सफल भएको अनुभव गरेका छौँ।
नेपालको अर्थतन्त्र अहिले कठिन तर महत्त्वपूर्ण चरणमा छ। आर्थिक गतिविधिमा देखिएको सुस्तता, लगानीको वातावरण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व, राजस्व तथा सार्वजनिक खर्च, वित्तीय प्रणाली, पूर्वाधार विकास, व्यापार तथा भुक्तानी सन्तुलनजस्ता विषयसँगै निजी क्षेत्रको आत्मविश्वास र उपभोक्ताको क्रयशक्तिसमेत अर्थतन्त्रको दिशासँग जोडिएका छन्। यस्तोमा हाम्रो भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बन्न पुगेको छ। विपदबाट माथि उठेर पुनर्निर्माण जुट्न हामीले निर्वाह गर्नुपर्ने दायित्वमा दृढ छौँ।
आर्थिक नीति निर्माण गर्ने तहमा हुने निर्णयले व्यवसायको वातावरण मात्र बदल्दैन त्यसको प्रभाव रोजगारी, आम्दानी, मूल्यवृद्धि, उपभोग र अन्ततः नागरिकको दैनिक जीवनमा पर्छ। त्यसैले सरकारका नीति तथा कार्यक्रम, नियमन र निर्णयको वस्तुनिष्ठ समीक्षा गर्नु, निजी क्षेत्रका समस्या र सम्भावनालाई उजागर गर्नु तथा उपभोक्ताको हित र अधिकारलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउनु हाम्रो पत्रकारिताको महत्त्वपूर्ण दायित्व हो।
हामी सरकारका राम्रा प्रयासलाई सकारात्मक रूपमा लिँदै कमजोरी र त्रुटिमाथि प्रश्न गर्नेछौँ। निजी क्षेत्रका जायज माग र समस्यालाई प्राथमिकताका साथ उठाउनेछौँ तर त्यससँगै बजारमा हुने अनुचित अभ्यास वा नियमनको कमजोरीमाथि पनि समानरूपमा प्रश्न उठाइरहनेछौँ। हाम्रा लागि पक्ष व्यक्ति वा संस्था होइन तथ्य र सार्वजनिक हित हुनेछ।
सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सञ्चारमाध्यमको जिम्मेवारी अझ बढेको छ। सूचना नियन्त्रण, अपारदर्शी, भ्रमपूर्ण सूचना र सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिने अपुष्ट दाबीबीच विश्वसनीय सूचना छुट्याएर पाठकसमक्ष पुर्याउनु अहिले ठूलो चुनौती हो। हामी तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्दर्भ र समाचारको दीर्घकालीन प्रभावलाई अझ गम्भीरतापूर्वक लिनेछौँ।
हामीले पछिल्ला वर्षहरूमा उठान गरेका कतिपय विषय सार्वजनिक बहसको हिस्सा बनेका छन्। केही विषयले सम्बन्धित निकायलाई निर्णय सच्याउन वा जवाफदेही बन्न बाध्य पारेका छन्। पाठकले देखाएको चासो, विश्वास र निरन्तरको प्रतिक्रियाले हामीलाई आर्थिक पत्रकारितामा प्रभावकारिता केवल धेरै समाचार प्रकाशन गर्नुमा नभइ सही विषय सही ढंगले उठाउनु र त्यसलाई निचोडसम्म पुर्याउनुमा हुन्छ भन्ने विश्वास अझ बलियो बनाएको छ।
विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा हाम्रो अगाडिको बाटो थप स्पष्ट देखिएको छ। आर्थिक समाचार र यससँग जोडिएका विषयवस्तुमा रुचि राख्ने पाठकसामु बिजनेस न्युज सबैभन्दा भरपर्दो विकल्पका रूपमा प्रस्तुत भएको हामीले विश्वास गरेका छौँ।
वस्तुनिष्ठ र तथ्यपरक सूचना उत्खनन गरी समाचारका रूपमा पाठकसमक्ष प्रस्तुत गर्ने ऊर्जा अझ बढ्दै गएको अनुभव गरेका छौँ। सूचना, त्यसबाट निर्माण हुने सोच र विश्वसनियतालाई ध्यानमा राखेर विषय सुरु गर्नेमात्र होइन त्यसलाई निचोडमा पुर्याउनमा हामीले ध्यान केन्द्रित गरिरहेका छौँ।
आगामी दिनमा पनि प्रतिस्पर्धामा आधारित अर्थतन्त्र, लगानीको वातावरण, उद्यमशीलता, उत्पादन वृद्धि, रोजगारी सिर्जना, उपभोक्ता हित र मुलुकको दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राखेर समाचार, खोजमूलक सामग्री, विश्लेषण, विचार, अन्तर्वार्ता, भिडियो तथा अन्य डिजिटल सामग्री प्रकाशन तथा प्रसारण गर्नेछौँ।
हाम्रा लागि समाचारको लम्बाइ, चौडाइ र गहिराइभन्दा पनि त्यसको विश्वसनीयता, सान्दर्भिकता र सार्वजनिक चासो महत्त्वपूर्ण हुनेछ। पाठकले हामीबाट केवल सूचना होइन, सूचनाको अर्थ र त्यसको प्रभाव बुझ्न सक्ने सामग्रीको अपेक्षा राखेका छन्। त्यो अपेक्षा पूरा गर्न हामी अझ परिमार्जित, परिस्कृत र परिपक्व हुँदै जानेछौँ।
पाँच वर्षको यात्रामा प्राप्त विश्वासलाई हामी उपलब्धिभन्दा ठूलो जिम्मेवारीका रूपमा लिएका छौँ। छैटौँ वर्षमा प्रवेश गर्दा यही विश्वासलाई अझ बलियो बनाउँदै स्वतन्त्र, तथ्यपरक, जिम्मेवार र प्रभावकारी आर्थिक पत्रकारिताको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हामीप्रति निरन्तर विश्वास, माया र साथ प्रदान गर्नुहुने सम्पूर्ण पाठक तथा दर्शक, विज्ञापनदाता, शुभेच्छुक, निजी क्षेत्र, सरोकारवाला निकाय तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दछौँ। विश्वसनीय आर्थिक पत्रकारिताको यो यात्रामा आगामी दिनमा पनि हामी तपाइँहरूसँगै रहनेछौँ।