बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पृथ्वी राजमार्ग खुलाउन अझै एक साता लाग्न सक्ने : कृष्णभीरमा नयाँ ट्रयाक, परेवाभीरमा ग्रेड मिलाइँदै

आइतबार, भदौ २१ २०८३
पृथ्वी राजमार्ग खुलाउन अझै एक साता लाग्न सक्ने : कृष्णभीरमा नयाँ ट्रयाक, परेवाभीरमा ग्रेड मिलाइँदै

नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ।

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवाभीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ।

यही भदौ १० गते त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो। सडक विभागका अनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य प्राविधिक टोलीद्वारा भइरहेको छ।

नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ।

देशको मुख्य पृथ्वी राजमार्गको यो खण्ड अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ। सडक मर्मत सम्पन्न भइ यातायात पुनः सुरु भएमा सवारी चाप कम हुने र आवागमन सहज हुने विश्वास लिइएको छ।

कृष्णभीरमा नयाँ ट्रयाक

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो छिचोल्दै नयाँ ट्रयाक निर्माण गर्ने काम सम्पन्न भएको छ। सडक विभागले पहिरो गएको क्षेत्रको माथिल्लो भागबाट दुवैतर्फबाट ट्रयाक खोल्ने काम अघि बढाएकोमा शनिबार दुवैतर्फका ट्रयाक जोडिएका हुन्।

ट्रयाक जोडिए पनि तत्कालै सवारीसाधन सञ्चालनमा ल्याउन भने सकिने अवस्था छैन। अब डिजाइनअनुसार माइक्रोपाइल राख्ने, सडकको ग्रेडिङ गर्ने तथा सवारीसाधन सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने काम बाँकी छ। सडक विभागका अनुसार थप समस्या नआए करिब ५ देखि ६ दिनमा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक तयार पार्ने लक्ष्य छ।

तर कृष्णभीरको भौगोलिक अवस्था चुनौतीपूर्ण रहेकाले काम तोकिएको समयभन्दा लम्बिन सक्ने जोखिम पनि छ। माथिबाट पुनः पहिरो खस्ने वा सडकको तल्लो भाग भासिने समस्या देखिएमा सडक सञ्चालनमा थप समय लाग्न सक्ने सडक विभागले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ २१ २०८३१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend