बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी-त्रिशूली बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९३३ जना अझै सम्पर्कविहीन

आइतबार, भदौ २१ २०८३
भोटेकोशी-त्रिशूली बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९३३ जना अझै सम्पर्कविहीन

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ।

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ।

बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका आयोजना हुन् भने ४ वटा निर्माणाधीन अवस्थामा छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट छ।

बाढीपछि विभिन्न जलविद्युत आयोजनामा कार्यरत ९३३ जना अझै सम्पर्कविहीन छन्। आयोजनाका विद्युतगृह, हेडवर्क्स, सुरुङ, क्याम्प तथा पहुँच संरचना बाढी र पहिरोले क्षतिग्रस्त बनाएपछि उनीहरूको खोजी तथा उद्धारमा ठूलो चुनौती देखिएको छ।

सबैभन्दा ठूलो मानवीय जोखिम २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली-१ आयोजनामा देखिएको छ। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले प्रवर्द्धन गरिरहेको आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए। उपलब्ध विवरणअनुसार ८७८ जनाको उद्धार भइसकेको छ भने ठूलो संख्यामा कामदार अझै सम्पर्कविहीन छन्।

आयोजनाको तीनवटा डिसेन्डर बेसिनमध्ये दोस्रो नम्बरको बेसिनबाट शनिबार एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ। नेपाली सेनासहितको टोलीले बेसिनमा जमेको पानी र हिलो हटाएपछि उनको उद्धार सम्भव भएको हो। सोही क्षेत्रमा दुई शवसमेत फेला परेका छन्। अब तेस्रो डिसेन्डर बेसिनबाट पानी र हिलो हटाएर थप खोजी गर्ने तयारी छ।

माथिल्लो त्रिशूली-१ मा हराइरहेकाहरूको खोजीका लागि कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोली परिचालन गरिएको छ। विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी भइरहेको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि बाढीबाट पूर्णरूपमा प्रभावित भएको छ। आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्। शनिबार नेपाली सेना र प्राविधिकसहितको उद्धार टोली विद्युतगृहभित्र प्रवेश गरेर खोजीमा जुटेको थियो। विद्युतगृहभित्र ठूलो मात्रामा हिलो, लेदो तथा मलबे थुप्रिएको पाइएको छ। कन्ट्रोल रुमसमेत लेदोले पुरिएको अवस्थामा छ।

उद्धार टोलीले ट्रान्सफर्मर क्याभर्न तथा विद्युतगृहका खुला स्थानमा खोजी गर्दा पनि सम्पर्कविहीनमध्ये कसैलाई फेला पार्न सकेन। यसअघि विद्युतगृहभित्र ४ देखि १४ जनासम्म फसेको हुनसक्ने अनुमान गरिएको थियो।

२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रमा पनि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। विद्युतगृहसम्म पुग्ने २५० मिटर लामो पहुँच सुरुङमध्ये करिब १०० मिटर मात्र सफा गर्न सकिएको छ। नेपाली सेना र भारतीय सेनाका २१ जनाले सुरुङभित्र म्यानुअल रूपमा माटो तथा भग्नावशेष हटाइरहेका छन्।

ठूला उपकरण विद्युतगृहसम्म पुर्‍याउन नसक्दा उद्धारमा थप कठिनाइ भएको छ। सडक सञ्जाल पूर्णरूपमा विच्छेद हुनु र प्रतिकूल मौसमका कारण आवश्यक सामग्री तथा उपकरणसमेत घटनास्थलसम्म पुर्‍याउन समस्या भइरहेको छ।

त्यस्तै ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनामा १९१ जना सम्पर्कविहीन रहेको विवरण छ। तीनवटा साना एक्स्काभेटर प्रयोग गरेर क्याम्प तथा कार्यालय क्षेत्रमा उत्खनन भइरहेको छ। चार मिटर गहिराइसम्म खन्दा पनि भवनका भग्नावशेषसमेत फेला पार्न कठिन भएको छ। ठूलो एक्स्काभेटर आयोजनास्थलसम्म पुर्‍याउन नसक्दा खोजी कार्य प्रभावित भएको छ।

बाढीबाट १२० मेगावाटको रसुवा-भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला आयोजना पनि प्रभावित भएका छन्। नुवाकोटतर्फ २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा तथा नुवाकोट सौर्य आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।

 


प्रकाशित : आइतबार, भदौ २१ २०८३०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend