रसुवा- भोटेकाशी बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। ४१ किलोमिटर सडक क्षति पुग्नुका साथै ८ वटा बेलिब्रिज र १० वटा झोलुंगे पुल बगाएको छ। ८ जलविद्युत आयोजनामा पूर्णरुपमा क्षति भएको छ।
बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली ३ ‘बी’मा क्षति पुर्याएको छ।
बाढीबाट १ हजार ५ सय वटा निजी घर, २८ वटा सरकारी र सार्वजनिक भवन, ८ सामुदायिक र १४ वटा बैंक तथा वित्तीय संस्थामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांक छ। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तीन निजी विद्यालय र एउटा पेट्रोल पम्पमा पनि क्षति पुगेको छ।
हालसम्म बाढीमा परी एक हजार ३६५ रसुवाली नागरिक, एक हजार १६० अन्य जिल्लाका नागरिक, २६४ पर्यटक सम्पर्कविहीन भएका छन्।
यसैगरी, बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी, ७९ जना सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ जना नेपाल प्रहरी, २७ नेपाली सेना हराएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ। सहायक प्रजिअ अधिकारीका अनुसार प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज गर्न हेलिकप्टरमार्फत राहत वितरण भइरहेको छ।