काठमाडौं- विश्व व्यापारमा डिजिटल सेवाको हिस्सा बढिरहेका बेला नेपालबाट हुने डिजिटल सेवा निर्यात पनि तीव्र गतिमा बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा ७९ अर्ब रुपैयाँ रहेको नेपालको डिजिटल सेवा निर्यात आर्थिक वर्ष २०८२/८३ मा बढेर ९८ अर्ब रुपैयाँ पुगेको छ। एक वर्षमा निर्यात १९ अर्ब रुपैयाँ अर्थात् करिब २४ प्रतिशतले बढेको हो।
नेपालको डिजिटल सेवा निर्यातमा परम्परागत दूरसञ्चार सेवासँगै सूचना प्रविधि र बिजनेस प्रोसेसिङ सेवाको योगदान छ। यीमध्ये बिजनेस प्रोसेसिङ सेवाको हिस्सा सबैभन्दा ठूलो छ।
परम्परागत वस्तु निर्यात अपेक्षाकृत कमजोर र व्यापार घाटा उच्च रहेका बेला डिजिटल सेवाको निर्यात बढ्नु नेपालका लागि नयाँ सम्भावनाको क्षेत्र बनेको छ। वस्तु निर्यात गर्न उत्पादन, भण्डारण र ढुवानी आवश्यक पर्छ। डिजिटल सेवा भने सीप र प्रविधिका माध्यमबाट देशबाहिरै ग्राहकलाई उपलब्ध गराउन सकिन्छ।
यसको असर नेपालमा सूचना प्रविधिसम्बन्धी व्यवसायको विस्तारमा पनि देखिन थालेको छ। सफ्टवेयर, बिजनेस प्रोसेस आउटसोर्सिङ, डेटा व्यवस्थापन, डिजाइन र प्राविधिक सेवामा नेपाली कम्पनीको संलग्नता बढ्दै गएको छ। सूचना प्रविधि क्षेत्रमा नयाँ कम्पनी तथा व्यवसाय सञ्चालन गर्ने क्रम पनि पछिल्ला वर्षमा बढेको छ।
सरकारले सूचना प्रविधिलाई रणनीतिक क्षेत्रका रूपमा अघि बढाउँदै डिजिटल सेवा निर्यात बढाउने नीति लिएको छ। विदेशी लगानीका प्राथमिकतामा पनि ऊर्जा र परम्परागत उद्योगसँगै सूचना प्रविधि तथा डिजिटल सेवा पर्न थालेका छन्। नेपालमा डिजिटल सेवा निर्यात बढिरहँदा विश्व व्यापारको स्वरूप पनि बदलिँदै गएको छ। वस्तुको व्यापारसँगै डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिने सेवाको कारोबार तीव्र गतिमा बढेको छ।
संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास निकाय अंकटाडले हालै सार्वजनिक गरेको ग्लोबल ट्रेड अपडेटअनुसार कम्प्युटर नेटवर्कमार्फत सीमा पार उपलब्ध गराउन सकिने डिजिटल सेवाको निर्यात पछिल्लो एक दशकमा वार्षिक औसत ७.१ प्रतिशतले बढेको छ।
यस्ता सेवाले अहिले विश्वको कुल सेवा निर्यातको ५६ प्रतिशत हिस्सा ओगटेका छन्। सन् २०२५ मा विश्वको कुल निर्यातमा सेवाको हिस्सा २७ प्रतिशत पुगेको छ। सन् २०१५ मा यो हिस्सा २३ प्रतिशत थियो।
लजिस्टिक्स, वित्त, डिजाइन र डेटा व्यवस्थापनजस्ता सेवा उत्पादन प्रक्रियासँग जोडिँदै गएका छन्। त्यसैले विश्व व्यापार अब वस्तुको किनबेचमा मात्र सीमित नरहेको अंकटाडको निष्कर्ष छ।
डिजिटल सेवाको विस्तार भने सबै मुलुकमा समान छैन। विकसित अर्थतन्त्रमा डिजिटल रूपमा उपलब्ध गराउन सकिने सेवाको हिस्सा कुल सेवा निर्यातको करिब ६१ प्रतिशत पुगेको छ। अतिकम विकसित मुलुकमा भने यस्तो हिस्सा १६ प्रतिशत मात्रै छ।
कमजोर र महँगो इन्टरनेट, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा सीमित पहुँच, डिजिटल सीपको कमी र कमजोर नियामक संरचनाका कारण अतिकम विकसित मुलुक डिजिटल सेवा व्यापारको विस्तारबाट अपेक्षित लाभ लिन सकेका छैनन्।
कृत्रिम बुद्धिमत्ताको विस्तारले डिजिटल सेवा बजारमा चुनौती पछिल्लो समय थपिएको छ। एआई विकास र प्रयोगका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा, वित्त र विशेषज्ञता सीमित मुलुक तथा कम्पनीमा केन्द्रित छ। यसले डिजिटल व्यापारमा रहेको असमानता थप बढाउन सक्ने जोखिम छ।
नेपालले अहिलेको वृद्धि बिजनेस प्रोसेसिङ र अन्य नियमित प्रकृतिका सेवामा मात्र सीमित रहेको छ। यसलाई विस्तार गर्न सरकारी प्रोत्सहान तथा अग्रसरता चाहिने उद्यमीहरूले बताउँदै आएका छन्।