बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुपरसेती जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु

शनिबार, भदौ २० २०८३
सुपरसेती जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु

आज बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो।

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका-८ घर भइ आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका-१ का २७ वर्षीय किसान राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ११ बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो।

पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए।

सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो। रासस


प्रकाशित : शनिबार, भदौ २० २०८३१५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend