बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरमा पहिरो छिचोल्दै जोडियो नयाँ ट्रयाक, माइक्रोपाइल र ग्रेडिङको काम बाँकी

शनिबार, भदौ २० २०८३
कृष्णभीरमा पहिरो छिचोल्दै जोडियो नयाँ ट्रयाक, माइक्रोपाइल र ग्रेडिङको काम बाँकी

सडक विभागले पाँचवटा निर्माण मेसिन परिचालन गरी दुई दिनमै ट्रयाक जोड्न सफल भएको जनाएको छ।

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो छिचोल्दै नयाँ ट्रयाक निर्माण गर्ने काम सम्पन्न भएको छ। सडक विभागले पहिरो गएको क्षेत्रको माथिल्लो भागबाट दुवैतर्फबाट ट्रयाक खोल्ने काम अघि बढाएकोमा शनिबार दुवैतर्फका ट्रयाक जोडिएका हुन्।

सडक विभागले पाँचवटा निर्माण मेसिन परिचालन गरी दुई दिनमै ट्रयाक जोड्न सफल भएको जनाएको छ। यसअघि पहिरो गएको स्थानभन्दा माथिबाट करिब ३७० मिटर नयाँ ट्रयाक खोल्ने योजना बनाइएको थियो। नयाँ सडक करिब ७ मिटर चौडाइको बनाउने गरी काम अघि बढाइएको थियो।

ट्रयाक जोडिए पनि तत्कालै सवारीसाधन सञ्चालनमा ल्याउन भने सकिने अवस्था छैन। अब डिजाइनअनुसार माइक्रोपाइल राख्ने, सडकको ग्रेडिङ गर्ने तथा सवारीसाधन सञ्चालनका लागि आवश्यक संरचना तयार गर्ने काम बाँकी छ। सडक विभागका अनुसार थप समस्या नआए करिब ५ देखि ६ दिनमा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक तयार पार्ने लक्ष्य छ।

तर कृष्णभीरको भौगोलिक अवस्था चुनौतीपूर्ण रहेकाले काम तोकिएको समयभन्दा लम्बिन सक्ने जोखिम पनि छ। माथिबाट पुनः पहिरो खस्ने वा सडकको तल्लो भाग भासिने समस्या देखिएमा सडक सञ्चालनमा थप समय लाग्न सक्ने सडक विभागले जनाएको छ।


प्रकाशित : शनिबार, भदौ २० २०८३१४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend