बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : सरकारको राहत कोषमा ११ अर्बभन्दा बढी रकम संकलन

शनिबार, भदौ २० २०८३
भोटेकोशी बाढी : सरकारको राहत कोषमा ११ अर्बभन्दा बढी रकम संकलन

विपद्‌बाट भएको कुल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रूपैयाँ आवश्यक पर्ने देखिएको छ।

काठमाडौं- भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरु बढिरहेका छन्। सरकारी कोषमा रकम जम्मा गर्नेक्रम बढ्दो छ।

सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

कोषमा जम्मा भएको १ अर्ब रूपैयाँ सरकारले बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 

नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।

विपद्‌मा परी हालसम्म १ हजार ३४४ जनाको मृत्यु भइसकेको छ। ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।

गएको १० गते बुधबार बिहान हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा पुग्दा नदीतटीय क्षेत्रमा ठूलो क्षति भएको छ। प्रारम्भिक आँकलनअनुसार बाढी र विपदबाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्‍गे पुलमा क्षति पुगेको छ।

विपद्‌बाट भएको कुल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रूपैयाँ आवश्यक पर्ने देखिएको छ।


प्रकाशित : शनिबार, भदौ २० २०८३१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend