काठमाडौं- भीषण बाढी आएको भोटेकोशी र त्रिशूली आसपास उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
'रसुवा र नुवाकोट जिल्ला भइ बहने भोटेकोशी, त्रिशूली नदी तथा स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ', महाशाखाले जारी सूचनामा भनेको छ।
नुवाकोट तथा रसुवामा हिमताल विस्फोटन भइ बाढी आउनसक्ने हल्लाहरुबीच महाशाखाले शुक्रबार चीनबाट हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको जानकारी गराएको थियो। यद्यपी सतर्क रहन भने सूचित गरिएको हो।
यस्तै, आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जालगायतका जिल्ला भइ बहने स-साना नदीमा उल्लेख्य बहाव बढ्नसक्ने भनिएको छ।
यसैगरी, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स-साना नदीहरुको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।