बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावितका लागि जुटिरहेछ आर्थिक सहायता, सरकारी राहत कोषमा दाताहरुको निरन्तर सहयोग

शुक्रबार, भदौ १९ २०८३
बाढी प्रभावितका लागि जुटिरहेछ आर्थिक सहायता, सरकारी राहत कोषमा दाताहरुको निरन्तर सहयोग

भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको छ।

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ। भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका स्थानीय तहले १ करोड ४७ लाख ४३ हजार ४३ रूपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको बताएका छन्।

सत्यवती गाउँपालिकाले ३० लाख ६८ हजार ३९१ रूपैयाँ, इस्मा गाउँपालिकाले २१ लाख एक हजार ६९६, रुरु क्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार र कालीगण्डकी गाउँपालिकाले १९ लाख ५५ हजार १५६ रूपैयाँ सहयोग गर्ने भएका हुन्। 

चन्द्रकोट गाउँपालिकाले १४ लाख रूपैयाँ, धुर्कोट गाउँपालिकाले १३ लाख ३७ हजार, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी दरबार गाउँपालिकाले पाँच लाख, मदाने गाउँपालिकाले चार लाख पाँच हजार ८०० र मालिका गाउँपालिकाले तीन लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन्।

यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि ३७ लाख २ हजार रूपैयाँ सहयोग गरेको छ।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर) ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोग स्वरूप रकम उपलब्ध गराएको प्रमुख मोहनकुमार राईले जानकारी दिए।

विराट ग्रुप, विराटनगरले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रूपैयाँ दाखिला गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम राहत कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए। 

कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब संकलन गरिएको थियो।

यसैगरी, भक्तपुरका दुईवटा विद्यालयले नौ लाख पाँच हजार ३०४ रूपैयाँ राहत संकलन गरेका छन्। रसुवामा गएको बाढी पीडितको राहतका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले उक्त रकम संकलन गरेका हुन्। 

एभरेस्ट इङ्लिस स्कुलबाट ६ लाख २३ हजार ४४ रूपैयाँ र एभरेस्ट भक्तपुर स्कुलबाट २ लाख ८२ हजार २६० रूपैयाँ आज प्रधानमन्त्री राहत कोषमा दाखिला भएको सो विद्यालयका प्रधानाध्यापकले जानकारी दिएका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १९ २०८३१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend