काठमाडौं- गएको १० गते बुधबार बिहान हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा पुग्दा नदीतटीय क्षेत्रमा ठूलो क्षति भएको छ।
प्रारम्भिक आँकलनअनुसार बाढी र विपदबाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।
यातायात क्षेत्रतर्फ ५५ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
विपदबाट भएको कुल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव शुक्रबार मध्यान्हसम्म फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ।
विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ। उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।
शुक्रबार मात्रै त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्याएका छन्। उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन्।
विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्।
प्राधिकरणकाअनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। जसमा ५ सय ८३ जना विदेशी नागरिक छन्। सम्पर्कविहीन हुनेहरूमा रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका छन्। सम्पर्कविहीनको संख्यामा पहिचान नभएका शवहरू समेत समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ।
प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई प्राथमिकता दिइएको छ। काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री पठाइएको छ भने सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत पुर्याएको छ।