काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ।
बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताए। उनले भोटेकोशीको भीषण बाढीले जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।
साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे। खासगरी अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरे।
साथै, प्रधानमन्त्रीले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताए। उनले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।
संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।