काठमाडौं- नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्य जारी रहँदा मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएको छ। उद्धार टोलीमा संलग्न इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको उल्लेख गरेका छन्।
न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।
उनले सामाजिक सञ्जालमार्फत सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट प्राप्त भएको बताएका छन्। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिएको उनको भनाइ छ।
सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारीलाई उद्धार अभियानमा आशाजनक संकेतका रूपमा लिइएको छ। यद्यपि, सुरुङभित्र कति जना व्यक्ति छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।
इन्जिनियर न्यौपानेका अनुसार उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा सहभागी थिए। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यहाँबाट सवारीसाधनमार्फत काठमाडौं फर्कने तयारीमा छन्।
उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र रहेका व्यक्तिको सकुशल उद्धारको आशा व्यक्त गरेका छन्।