काठमाडौं- मनसुनजन्य विपदको पूर्वतयारी, खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय संयन्त्र 'मनसुन प्रतिकार्य कमाण्ड पोस्ट'को बैठकले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका १५ स्थानीय तहलाई विपद व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यलयमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित स्थानीय तहलाई तत्काल राहत स्वरूप यो रकम प्रदान गरिनेछ।
प्राधिकरणका अनुसार रसुवा जिल्लाका चार स्थानीय तहमध्ये गोसाइकुण्ड गाउँपालिकालाई १ करोड, उत्तरगया गाउँपालिकालाई ७५ लाख, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २० लाख रुपैयाँ पठाइनेछ।
त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकालाई १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकालाई ७५ लाख, तारकेश्वर गाउँपालिकालाई ५० लाख र किस्पाङ्ग गाउँपालिकालाई २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
धादिङको गल्छी गाउँपालिकालाई ३० लाख तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालाई २०/२० लाख रुपैयाँ उपलब्ध गराइने जनाइएको छ।
बैठकले गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि २०/२० लाख रुपैयाँका दरले रकम पठाउने निर्णय गरेको छ।
यसअघि भदौ ११ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३५ औँ बैठकले गरेको निर्णयअनुसार क्षतिको आधारमा यो थप रकम विनियोजन गरिएको हो। उक्त रकम स्थानीय तहले विपद व्यवस्थापन र राहत वितरणका कार्यमा खर्च गर्नुपर्नेछ।