काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले साउन महिनाभर २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गर्दै ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन्।
यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी गरेको छ। कम्पनीले २७ हजार ८७१ वटा बीमालेख जारी गर्दै ५६ करोड २५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरी २२ हजार ९६४ वटा बीमालेख जारी गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनीले ५३ करोड ४६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ।
अन्य कम्पनीहरुको व्यवसाय विवरण हेर्दा शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
त्यसैगरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्ट इन्स्योरेन्सले ४४ करोड ३७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख रुपैयाँ तथा यूनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ व्यवसाय गरेका छन्।
बाँकी कम्पनीहरुमा नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २४ करोड ३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।