काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।
बिहीबार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै अझ प्रभावकारीरूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई बैठकले जोड दिएको बताए।
‘सरकारका तर्फबाट हालसम्म भएका कामहरू सन्तोषजनक छन्, यद्यपि यसलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई बैठकले जोड दिएको छ’ उनले भने।
बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपमहासचिव एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराएका थिए।
प्रवक्ता खरेलका अनुसार सरकारले हालसम्म ८ अर्ब रुपैयाँभन्दा बढी सहयोग संकलन गरिसकेको छ। संकलित रकममध्ये १ अर्ब रुपैयाँभन्दा बढी विपद् व्यवस्थापन प्राधिकरणलाई र ६ करोड रुपैयाँभन्दा बढी स्थानीय तहहरूलाई उपलब्ध गराइसकेको जानकारी बैठकमा दिइएको छ।
सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज, उद्धार र राहतका कामलाई अझ बढी प्रभावकारी र द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन्।
रास्वपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउनसमेत आग्रह गरेको छ।