बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो?

बुधबार, भदौ १७ २०८३
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो?

सरकारले दुई चरणमा गरी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोडभन्दा बढी निकासा गरेको छ।

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रूपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड र धादिङका लागि ५० लाख रूपैयाँ दिने निर्णय सरकारले गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते ६ करोड ५० लाख र १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रूपैयाँ निकासा गरेको हो।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि १ करोड ५० लाख रूपैयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागि २ करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रूपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि ३ करोड, बेलकोटगढी नगरपालिकाका लागि १ करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि १ करोड रूपैयाँ निकासा गरिएको छ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनीघाट रोराङ गाउँपालिकाका लागि ४० लाख रूपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रूपैयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रूपैयाँ निकासा दिएपछि अब सो कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ। साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १७ २०८३१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend