काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजना कार्यरत कर्मचारीका परिवारसँग भेट गरेका छन्। बुधबार मन्त्रालयमा उनले भेटवार्ता गर्दै सान्त्वना दिएको उनको सचिवालयले जनाएको छ।
'आफन्तको कुनै खबर नपाउँदाको पीडा कति गहिरो हुन्छ, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन। उहाँहरूको पीडाले हामीलाई पनि उत्तिकै मर्माहत बनाएको छ', मन्त्री श्रेष्ठले भने, 'हरेक जीवन अमूल्य छ, एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन। राखेको पनि छैन।'
मन्त्री श्रेष्ठले राज्यका सम्पूर्ण संयन्त्र, स्रोत र जनशक्ति परिचालन गरी खोजी तथा उद्धारको प्रयास निरन्तर जारी रहेको जानकारी गराए। 'सरकार आफ्ना नागरिक र राष्ट्रसेवकको परिवारसँगै छ, यो कठिन घडीमा उहाँहरूलाई एक्लो हुन दिने छैनौँ', उनले भने।
भेटका क्रममा चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी तथा उद्धारका प्रयासबारे परिवारजनलाई जानकारी दिए। उद्धार तथा खोजीकार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उनले बताए।
सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिइएको छ। नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार उपलब्ध सबै उपायको प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ।