बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपछि जलविद्युत आयोजनामा उद्धारको काममा अहिलेसम्म के-के भयो?

विद्युत प्राधिकरणका ट्रेड युनियन भन्छन् - जस्तोसुकै संयन्त्र लगाएर भएपनि छिटो उद्धार गरियोस्

बुधबार, भदौ १७ २०८३
बाढीपछि जलविद्युत आयोजनामा उद्धारको काममा अहिलेसम्म के-के भयो?

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १ सय ५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।

काठमाडौं- गएको बुधबार हिम चट्टानसहित पहिरो झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ। आयोजनामा कार्यरत सयौँ श्रमिक सम्पर्कविहीन भएका छन्। 

जलविद्युत आयोजनामा कतिपय कामदार सुरुङभित्र हुनसक्ने भन्दै खोजीको प्रयास भइरहेको छ। आयोजना निर्माण कम्पनी र हराएका परिवारका सदस्यहरूले खोजी कार्य प्रभावकारी नभएको भन्दै गुनासो गरिरहेका छन्। 

नेपाली सेनाले दिएको पछिल्लो जानकारीअनुसार रसुवागढी हाइड्रोमा उद्धार टोली टलेनको करिब १ सय ५० मिटरभित्र पुगेको थियो। ठूला चट्टानहरूको कारण भित्र जान नसकेकोले आज पुन: खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। 

लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १ सय ५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको छ। 

त्रिशुली थ्री ए मा नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा 'बबक्याट'बाट माटो पन्छाइ कम्प्रेसर मेसिन, ब्रेकर तथा तथा ब्लाष्टिङ कार्यपश्चात टनेलको आउटलेट भेटिएको छ। वर्षाको कारण राति जमेको करिब १.५ मिटर पानीलाई पम्पद्वारा फाल्ने काम गरिएको सेनाले जनाएको छ। 

त्रिशुली थ्री बीमा नेपाली सेनाको ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलिले आयोजनाको कार्यालय र निवास पहिचान गरि उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो बनाउने काम भइरहेको जनाइएको छ। 

माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना सम्पर्कविहीन

बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्।

माथिल्लो त्रिशुली १ हाकुमा नेपाली सेनाको टोलीद्वारा खोज तथा उद्धार भइरहेको जनाइएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका ३८५ जना सम्पर्कविहीन भएको जनाएको छ। हाइड्रो मेकानिकल तथा इलेक्टो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन रहेका छन्।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना जना अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।

सम्पर्कविहीन रहेकामध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंंका गरिएको छ। 

यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका-१ मा निर्माणाधीन अवस्थामा रहेको थियो। आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

विद्युत प्राधिकरणका ट्रेड युनियन भन्छन् - जस्तोसुकै संयन्त्र लगाएर भएपनि छिटो उद्धार गरियोस्

नेपाल विद्युत प्राधिकरणमा रहेका विभिन्न ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति निकाल्दै जस्तोसुकै संयन्त्र लगाएर भएपनि सुरुङमा फसेकाहरुको छिटो उद्धार गर्न आग्रह गरेका छन्। 

रसुवा तथा नुवाकोटमा अवस्थित त्रिशुली थ्री ए लगायतका विभिन्न जलविद्युत केन्द्र/निर्माणाधीन आयोजनाहरूमा मर्मत सम्भार तथा कठिन कार्यमा खटिएका श्रमिक कर्मचारीहरू बाढी पहिरोका कारण गम्भीर जोखिममा परी हालसम्म पनि सम्पर्कविहीन भएकोमा नेपाल सरकार, सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरण लगायतबाट उद्धार तथा खोजी कार्य भए पनि समन्वयको अभावले गर्दा हालसम्म कुनै पनि परिणाम आउन नसकेको उनीहरूले जनाएका छन्। 

'यस्तो विषम परिस्थितिमा जस्तोसुकै संयन्त्र लगाएरै भएपनि तदारुकताका साथ प्रभावित क्षेत्रमा रहेका साथीहरूको उद्धार गरियोस्। आफ्नो कर्तव्य निर्वाहका क्रममा जीवन नै जोखिममा पार्नुपर्ने अवस्था सृजना हुनु र संकटको समयमा प्रभावकारी ढंगबाट उद्धारमा ढिलाइ हुनु तथा सुरक्षित स्थानान्तरण प्रभावकारी रुपमा हुन नसक्नुले व्यवस्थापकीय तथा संस्थागत समन्वयको अभाव भएको छ' विज्ञप्तिमा भनिएको छ। 


प्रकाशित : बुधबार, भदौ १७ २०८३१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend