बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई कांग्रेसको आग्रह

बुधबार, भदौ १७ २०८३
प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई कांग्रेसको आग्रह

'अहिले सबैभन्दा खड्किएको विषय खोज तथा उद्धारको विषय रहेको छ। सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो।'

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवा बाढीको प्रलय आएको एक साता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाए।

विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सबै ठीकै भइरहेको छ त सभामुख महोदय? भन्दै उनले प्रश्नसमेत गरे।

‘जब ठीकठाक हुँदैन हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारीबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। म सभामुखमार्फत सत्तासिन सरकार र साथीहरुलाई आग्रह गर्न चाहान्छु, यो प्रचार गर्ने होइन नागरिकको प्राण बचाउने समय हो। नागिरकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैभित्र समीक्षाको विषय बनाउनुहोला' उनले भने।

अझै ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै समयक्रममा यो संख्या अझै बढ्न सक्ने उनले बताए।

नेता आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए। उनले प्रभावित नागरिकको उद्धारमा सुरुदेखि नै सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि तथा दक्ष जनशक्तिसमेत प्रयोग गर्नुपर्नेमा सरकार त्यसमा चुकेको बताए।

'अहिले सबैभन्दा खड्किएको विषय खोज तथा उद्धारको विषय रहेको छ। सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो। सुरुदेखि नै सरकारी, निजी, आवश्यक पर्‍यो भने अन्तर्राष्ट्रिय प्रविधि र दक्षजनशक्तिसहित उद्धारमा केन्द्रित हुनुपर्ने थियो’ उनले भने।


प्रकाशित : बुधबार, भदौ १७ २०८३१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend