बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छ : प्रधानमन्त्री

बुधबार, भदौ १७ २०८३
बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरे।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गर्दै उनले हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको र ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताए।

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरे। उनले मन भक्कानिदा पनि एकआपसमा बिलौना गर्ने समय झनै नभएको बताए।

आफ्ना सपनाहरू बुनिरहेका नानीबाबुहरू, हाँसोखुसीका साथ बसिरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उनले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गरे। 

बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेको प्रधानमन्त्री शाहले बताए। बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंंबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताए। उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि उनले बताए। उनले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताए।

बाढीमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको साथमा सरकार रहेकोसमेत प्रधानमन्त्री शाहले बताए।


प्रकाशित : बुधबार, भदौ १७ २०८३१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend