काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवा लगायतका विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित ग्राहकहरूका लागि वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै विपद्का कारण चेक, एटिएम कार्ड, मोबाइल वा अन्य आवश्यक कागजात गुमाएका नागरिकहरूलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन आग्रह गरेको हो।
बैंकहरूले संस्थामा पहिले नै उपलब्ध रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा पहिचान यकिन गरी सेवा प्रवाह गर्नुपर्नेछ।
विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूलाई वित्तीय सेवा प्राप्त गर्न समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित सबै संस्थालाई पत्राचार गरेको हो।