बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृष्णभीरमा ग्याबियन वालमाथिबाट सवारी चलाइने, वैकल्पिक सडक बनाउने तयारी

बुधबार, भदौ १७ २०८३
कृष्णभीरमा ग्याबियन वालमाथिबाट सवारी चलाइने, वैकल्पिक सडक बनाउने तयारी

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारले ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना निर्माण गर्ने भएको छ।

काठमाडौं- पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारले ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचना निर्माण गर्ने भएको छ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृङ्खला तत्काल पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा आवश्यक संरचना निर्माणको काम अघि बढाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार ट्र्याक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ निर्माण तथा हिलसाइडबाट बोल्डर तल खसाल्ने कामसमेत गरिनेछ। यसबाट सडक सञ्चालनका लागि तत्कालीन विकल्प तयार पार्ने सरकारको योजना छ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पमा अध्ययन गरिने भएको छ। सडक विभागलाई सम्भावित प्राविधिक विकल्पको अध्ययन अघि बढाउन जिम्मेवारी दिइएको छ।

त्यस्तै, कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णयसमेत बैठकले गरेको छ।

विकल्पको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउनेछ। आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारीपत्र (एमओयू) गर्ने तयारीसमेत गरिएको मन्त्रालयले जनाएको छ।

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएपछि राजधानीसँगको आवागमन र आपूर्ति व्यवस्थामा गम्भीर असर परेको छ। सरकारले तत्कालका लागि सडक खुलाउने र दीर्घकालमा कृष्णभीरको जोखिम नै हटाउने गरी वैकल्पिक पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको हो।


प्रकाशित : बुधबार, भदौ १७ २०८३०६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend