बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीका कारण ५३ झोलुङ्‍गे पुलमा क्षति : ३३ स्थानमा नयाँ बनाउनुपर्ने, २० वटा मर्मत गर्न सकिने अवस्थामा

५ स्थानमा अस्थायी तुइन हालिँदै

मंगलबार, भदौ १६ २०८३
बाढीका कारण ५३ झोलुङ्‍गे पुलमा क्षति : ३३ स्थानमा नयाँ बनाउनुपर्ने, २० वटा मर्मत गर्न सकिने अवस्थामा

झोलुङ्‍गे पुल मर्मतका लागि १५ करोड रुपैयाँ, झोलुङ्‍गे पुल पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ, अवरुद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्गका लागि ४० करोड रुपैयाँ अनुमान गरिएको छ।

काठमाडौं- गएको बुधबार भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले ५३ वटा झोलुङ्‍गे पुलमा क्षति पुगेको छ।

स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहका अनुसार कुल क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्णरूपमा बगेका छन् भने २० वटा मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्।

पूर्णरूपमा क्षतिग्रस्त भएका ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ।

बाढीले पुल बगाएपछि विच्छेद भएको जनजीवन र दुई बस्तीबीचको आवागमनलाई सहज बनाउन विभागले तत्काल पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने कार्य सुरु गरेको छ। नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशुली नदीको इन्द्रायणी चौरमा २ सय ५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ।

यसैगरी बेलकोटगढीको देवीघाटमा १ सय ८० मिटर लामो तुइन सञ्चालनमा ल्याउने तयारी छ। बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप तीन स्थानमा बुधबारदेखि तुइन जडानको कार्य प्रारम्भ हुने महानिर्देशक साहले जानकारी दिए।

सामान्य क्षति भएका २० वटा पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका ९ वटा पुलको मर्मत कार्य बुधबारदेखि नै सुरु हुनेछ। मर्मतका लागि आवश्यक ‘डेग’ (पाटा) हरू बजारबाट खरिद गरी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ।

यद्यपि पूर्णरूपमा क्षतिग्रस्त ३३ वटा पुलको पुनर्निर्माणमा भने केही समय लाग्ने देखिएको छ। पुनर्निर्माणका लागि आवश्यक पर्ने ‘लठ्ठा’ (स्टिल वायर रोप) हाल मौज्दात नरहेको र भारतबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी) प्रक्रिया अपनाउनुपर्ने साहले बताए।

साथै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा आएको प्राविधिक समस्याका कारण बोलपत्र प्रक्रिया ‘हार्ड कपि’ मार्फत अघि बढाउनुपर्ने बाध्यताले पुनर्निर्माणमा केही ढिलाइ हुनसक्ने उनको भनाइ छ।

स्थानीय पूर्वाधारको पुनर्स्थापनाका लागि विभागले प्रारम्भिक लागत अनुमानसमेत सार्वजनिक गरेको छ। जसअनुसार झोलुङ्‍गे पुल मर्मतका लागि १५ करोड रुपैयाँ, झोलुङ्‍गे पुल पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ, अवरुद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्गका लागि ४० करोड रुपैयाँ अनुमान गरिएको छ।

आगामी २० देखि २५ दिनभित्र मर्मत हुनसक्ने पुलहरूको काम सम्पन्न गर्ने विभागको योजना छ। मुख्य राष्ट्रिय राजमार्गहरूको तुलनामा ग्रामीण सडकहरूमा कम क्षति पुगे पनि स्थानीयस्तरको पहुँचलाई जोडिराख्न विभाग केन्द्रित रहेको महानिर्देशक साहले बताए। 

बाढीले ध्वस्त सडक पूर्वाधार : ४० किलोमिटर सडक पूर्णरूपमा बग्यो, ३१ वटा पुलमा क्षति बाढीले ध्वस्त सडक पूर्वाधार : ४० किलोमिटर सडक पूर्णरूपमा बग्यो, ३१ वटा पुलमा क्षति


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend