काठमाडौं- गएको बुधबार भोटेकोशी हुँदै त्रिशुलीसम्म आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखाका नदीतटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
बाढीका कारण हजारौँ नागरिक बेपत्ता भएका छन् भने अर्बौँको भौतिक पूर्वाधार ध्वस्त भएको छ। विपद्को ७ दिन बितिसक्दा पनि पीडितहरूले राज्यको उपस्थिति महसुस गर्न नसकेको र उद्धार तथा राहतमा ढिलाइ भएको गुनासो गरेका छन्।
कालिका गाउँपालिका-३ का अर्जुनप्रसाद न्यौपानेका अनुसार बाढीले रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो र माथिल्लो तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ। रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, पहिरेबेँसी र मैलुङलगायतका क्षेत्रमा रहेका मानवीय बस्ती र भौतिक संरचनाहरू बाढीले नामेट पारेको छ।
‘हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ' न्यौपाने भन्छन्, ‘उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन। मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन।’
बाढीका कारण सडक सञ्जाल र पुलहरू पूर्णरूपमा ध्वस्त भएपछि रसुवाका माथिल्लो भेगका धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरु जस्ता गाउँहरू बाँकी विश्वबाट अलग भएका छन्। ती क्षेत्रमा खाद्यान्न संकट चुलिएर भोकमरीको अवस्था सिर्जना हुन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
वैकल्पिक सडक मार्ग नभएकाले तत्काल हवाई मार्गबाट राहत सामग्री ढुवानी नगरे बाँचेका नागरिक पनि भोकै मर्ने अवस्था रहेको न्यौपानेको दाबी छ।
बाढी यति भयानक थियो कि धेरैले आफ्ना परिवारका सदस्यलाई आँखाअगाडि नै नदीले बगाएको टुलुटुलु हेरेर बस्नुपर्यो। नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेले सोही दिन आफ्नी ४७ वर्षीया श्रीमती गुमाए।
होटल व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेको घर त्रिशुली नदीको सतहभन्दा निकै माथि भएपनि सुनामी जस्तो आएको बाढीले उनको सर्वस्व लुटेको छ।
‘श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्, मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्याएँ तर मेरी श्रीमती भाग्न सकिनन्।’ लामिछाने भावुक हुँदै भने, ‘मेरो दाइकी नातिनीलाई कान्लामा फ्यालेर उनले बच्चाको ज्यान त बचाइन् तर आफूलाई भने बाढीबाट जोगाउन सकिनन्।’
लामिछाने अहिले काठमाडौंका अस्पतालहरूमा श्रीमतीको शव पहिचानका लागि भौँतारिरहेका छन्। तर फेला परेका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न असम्भवप्रायः छ। डीएनए परीक्षणका लागि ठूलो खर्च लाग्ने र लामो समय कुर्नुपर्ने झन्झटिलो प्रक्रियाले पीडितलाई थप मानसिक तनाव दिएको छ।
‘हामी त सडकमा आयौँ। राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्ने थियो’ उनले भने।
सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको एउटै समूह बाढीमा परेर बेपत्ता भएको छ। तीमध्येका आफन्त आशा मगरले सरकारको चरम लापरबाहीका कारण यति ठूलो मानवीय क्षति भएको आरोप लगाइन्।
‘हाम्रो दुई भाइ, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो। सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन्? किन कोठाभित्रै थुनिएर मर्नुपर्यो?’ मगरले आक्रोश पोख्दै भनिन्, ‘८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई सतर्क गराइएन? यो सरासर राज्यको लापरबाही हो।’
अहिले टिचिङ हस्पिटल र ट्रमा सेन्टरमा आफ्ना आफन्तको नाम वा फोटो फेला पर्ने आशमा बसेका धेरै परिवारहरू निराश भएर फर्कनुपर्ने अवस्था छ। कतिपयले आफ्ना आफन्त जीवितै पाउने आशा मारिसकेका छन् भने अन्तिम पटक अनुहार देख्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपर्ने हो कि भन्ने डरमा छन्।
रसुवाका बाढीपीडितहरूले अहिलेको तत्कालीन राहतले मात्र जीवन निर्वाह नहुने भन्दै दीर्घकालीन पुनर्स्थापनाको माग गरेका छन्। घरवास, श्रीसम्पती र परिवारका सदस्य गुमाएका उनीहरूका लागि राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरूको माग छ।
विशेषगरी माथिल्लो रसुवाको भौगोलिक विकटता र भत्किएका पूर्वाधारका कारण त्यहाँका बासिन्दाको जीवन रक्षाका लागि सरकारले युद्धस्तरमा काम गर्नुपर्ने देखिएको छ।
भदौ १० को त्यो कहालीलाग्दो समयले उनीहरूको जनजीवन मात्र खलबल्याएको छैन, राज्यको विपद् व्यवस्थापन क्षमता र नागरिकप्रतिको जिम्मेवारीमाथि समेत ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ। पीडितहरू अझै पनि नदीका बगर र अस्पतालका कोरिडोरहरूमा न्याय र सहयोगको प्रतीक्षामा छन्।