काठमाडौं- पृथ्वीराजमार्गअन्तर्गत धादिङ कृष्णभीरमा गएको पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन कम्तीमा १५ दिन लाग्ने भएको छ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भइ राजमार्ग अवरुद्ध भएको छ। सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ।
विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो।
पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए। राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सु गर्नेगरी काम अघि बढाइने जानकारी दिए।
विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाइ छ। उनले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए।
सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपदप्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ।
विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताए। उनका अनुसार सुरुवाती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।
सडक विभागका भूप्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको गएको बताए।
तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ।
सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणवद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने उनले बताए। तल्लो भागमा नदी कटान हाल रोकिएको प्रारम्भिक अध्ययनबाट देखिएको उनको भनाइ छ।
ड्रोनबाट खिचिएको तस्बिरमा नदीको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले हाललाई माथिबाट डाइभर्सन निर्माण गरेर सडक खोल्ने सम्भावना रहेको उनले बताए।
नदीको टो-स्कर तथा कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले र्याप गरेर तल्लो भाग संरक्षण गर्ने प्रविधि प्रयोग गर्न सकिने उनको भनाइ छ। यस्तो संरचनाले नदीको कटान कम गरी विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ।
हाल सडक सञ्चालनमा ल्याउन करिव १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाइको प्रभावित क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ। तीन–चारवटा मेसिन परिचालन गरी तीव्र गतिमा काम गर्न १५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए।
पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने उनले बताए। सडकको भित्तो कटिङ गरेर केही माथिबाट सडक खुलाउन सकिने उनको भनाइ छ।