बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रघुगंगामा व्यावसायिक चौँरीपालन सुरु

मंगलबार, भदौ १६ २०८३
रघुगंगामा व्यावसायिक चौँरीपालन सुरु

धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीनजना किसानले सामूहिकरुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन्।

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन्। धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीनजना किसानले सामूहिकरुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन्।

कालीबराह कृषि तथा पशुपक्षी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका हुन्। उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगंगामा यसअघि चौँरीपालन भएको थिएन।

'म्याग्दीकै अन्नपूर्ण गाउँपालिका-५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमंगलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,' धनप्रसादले भने, 'पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ।'

याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए। उनका अनुसार चौँरीपालनमा तीन जनाको ६० लाख रूपैयाँ लगानी भएको छ। नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ।

धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बंगुरपालन गरेर बस्दै आएका छन्। धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुन्। उनीहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन्। बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँसीका फाँटमा चरनको सुविधा रहेको छ।

समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ। चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो।

डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हुँदै आएको छ। देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपक्षी मन्त्रालयको तथ्यांक रहेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १६ २०८३११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend