बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीले ३५ भन्दा बढी पुल बगाउँदा जोगिएको गल्छी महेशदोभान पुल

पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गरिने

मंगलबार, भदौ १६ २०८३
बाढीले ३५ भन्दा बढी पुल बगाउँदा जोगिएको गल्छी महेशदोभान पुल

चट्टानी भूबनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको हो।

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशुली नदीमा रहेका ३५ वटाभन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङ, गोरखाका पक्की पुल, बेलिब्रिज तथा झोलुङ्‍गे पुल बगाएको हो।

बाढीले केही पुल पूरै बगाएको छ भने केहीमा आंशिक क्षति पुर्‍याएको छ। तर त्रिशुली नदीमा भीषण बाढी आउँदा धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ।

अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशुली नदीमाथि निर्माणधिन पुल जोगिएको हो। धादिङबेँसी जोड्ने फुर्केखोला पुलसमेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त?

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पुर्‍याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ।

बाढीको तीव्र बहाव हेर्दा महानिर्देशक जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन तर बाढीको बहाव यस क्षेत्रमा आइपुग्दा केही कमजोर भएको र पुल रहेको स्थानमा नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले बाढीको प्रत्यक्ष दबाब कम हुन पुग्यो। सोही कारण पुलका संरचनात्मक भागमा ठूलो क्षति हुन नपाएको उनले बताए।

चट्टानी भूबनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको उनको भनाइ छ।

‘हुन त यस्तै स्पान भएको अगाडिको एउटा पुल पनि भेलले लिएर गयो। त्यही संरचनाको थियो, तुप्चे भन्ने ठाउँमा अलि माथि थियो। तर यो ठाउँ चाहीँ अलि फराकिलो पनि भयो। अनि यहाँ रकको स्ट्राटा छ। यो पुललाई त्यही रकभित्र करिव १०-१५ मिटरजति भित्र पठाइएको थियो। त्यो रकलाई भेलले काट्न सकेन, अनि यता फिजिन ठाउँ पनि पाएर, भाग्यवश यो पुल बच्न गयो। अहिले हामीलाई ठूलो राहत महशुस भएको छ’ उनले भने। 

यही प्रकृतिको संरचना रहेको त्रिशुलीकै तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको उनले बताए।

महानिर्देशक जैसीका अनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो। टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिव १०० मिटरसम्म माथि पुगेको आँकलन गरिएको उनले बताए। यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन कठिन हुने उनको भनाइ छ।

‘हामीलाई टिमुरे र माथि रसुवागढीमा १०० मिटरमाथिसम्म छाल पुगेको भन्ने आकलन थियो। भनेपछि कुनैपनि पुल रहने कुनै सम्भावना नै थिएन, भाग्यवश हाम्रा त्रिशुलीमा केही पुलहरू जोगिएका छन्। त्योमध्ये यता स्याप्रुबेसी पट्टि भएको त्रिशुलीको पहिलो बचेको पुल हो, यो। हामीलाई पनि एकदम अचम्म लाग्यो, यो पुलै बच्ला भनेर हामीले एक्स्पेक्ट गरेका थिएनौँ’ उनले भने। 

अब पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गरिने

रसुवा बाढीले पुलमा ठूलो क्षति पुर्‍याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ।

बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डा जैसीले पुलको डिजाइन परम्परागत ढंगले अब गर्न नहुने बताउँछन्।

यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उनले बताए। जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकोले अब पुल निर्माणसम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएको उनको भनाइ छ।

अब नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्नेछ। पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्नेगरी मापदण्ड बनाउनुपर्ने उनले बताए। रणनीतिक र ‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको पनि उनले जानकारी दिए।

‘अब हामीले एकदमै क्लाइमेट-रेजिलेन्स खालका, लामा स्पानका पुलहरू निर्माण गर्नुपर्छ। त्यसका लागि हामी कोडहरू रिभाइज गर्छौँ र हाम्रो सामान्य ट्रेण्ड नै परिवर्तन गर्छौँ। सकेसम्म बीचमा पिलर नराख्ने, लामा स्पान भएका र अग्ला पुलहरू बनाउनेतर्फ जानुपर्छ। अर्को कुरा, रणनीतिक लोकेसन हेरेर कुनै-कुनै पुल लाइफलाइन पुल हुन्छन्। त्यस्ता पुलहरूलाई विशेष ‘ए ग्रेड’ महत्वपुर्ण पुलका रूपमा छुट्याएर विशेष स्रोतबाट निर्माण गर्ने, अझ बलियो र लामा बनाउने भन्ने विषयमा अब विभागले जानुपर्छ कि भनेर हामी अहिले एकदमै गम्भीर रूपमा मन्थन गरिरहेका छौँ’ उनले भने। 

हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन तथा पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ। तर जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता परिवर्तन भइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने महानिर्देशक जैसीले बताए।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend