बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढीबाट प्रभावित सूचीकृत कम्पनीको विवरण सार्वजनिक गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १६ २०८३
बाढीबाट प्रभावित सूचीकृत कम्पनीको विवरण सार्वजनिक गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन

त्यस्तै, कम्पनीहरूले बीमासम्बन्धी दाबी, विपद्बाट परेको प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालन हुन लाग्ने अनुमानित समयलगायत १३ वटा महत्वपूर्ण विवरण आधिकारिक माध्यम तथा नेप्सेको सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने बोर्डले जनाएको छ।

काठमाडौं- नेपालका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट जलविद्युत् आयोजना र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेपछि नेपाल धितोपत्र बोर्डले प्रभावित सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ।

विशेषगरी त्रिशूली र भोटेकोशी नदी प्रणाली आसपास आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएपछि लगानीकर्तालाई सही र समयमै सूचना उपलब्ध गराउने उद्देश्यले बोर्डले यस्तो निर्देशन दिएको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) बमोजिम बोर्डले नेप्सेलाई विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका सूचीकृत कम्पनीहरूको विस्तृत विवरण तत्काल संकलन गरी बोर्डमा पठाउन निर्देशन दिएको छ।

बोर्डको निर्देशनअनुसार प्रभावित कम्पनीहरूले आफ्नो आयोजनामा भएको भौतिक क्षतिको अवस्था, विद्युत् उत्पादनको वर्तमान स्थिति, उत्पादन क्षमतामा परेको प्रभाव, मानव संशाधनमा भएको क्षति तथा प्रसारण पूर्वाधारको अवस्थासहितका महत्वपूर्ण विवरण सार्वजनिक गर्नुपर्नेछ।

त्यस्तै, कम्पनीहरूले बीमासम्बन्धी दाबी, विपद्बाट परेको प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनः सञ्चालन हुन लाग्ने अनुमानित समयलगायत १३ वटा महत्वपूर्ण विवरण आधिकारिक माध्यम तथा नेप्सेको सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने बोर्डले जनाएको छ।

प्राकृतिक विपद्का कारण कम्पनीहरूको वित्तीय अवस्था र उत्पादनमा असर पर्न सक्ने भएकाले धितोपत्र बजारमा गलत सूचना वा अपारदर्शिताका कारण लगानीकर्ताको निर्णय प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको बोर्डको भनाइ छ।

बोर्डले नेप्सेलाई संवेदनशील परिस्थितिमा धितोपत्र कारोबारमा हुन सक्ने अस्वाभाविक मूल्य परिवर्तनमाथि समेत विशेष निगरानी गर्न निर्देशन दिएको छ। अस्वाभाविक खरिद-बिक्री आदेश, असामान्य कारोबार परिमाण तथा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि हुन सक्ने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को सम्भावनालाई समेत निरन्तर अनुगमन गर्न भनिएको छ।

यस्तै, भविष्यमा आउन सक्ने प्राकृतिक विपद्, दुर्घटना वा आगलागीजस्ता घटनाका समयमा सूचीकृत कम्पनीबाट सूचना प्रवाह गर्ने प्रक्रिया तथा आवश्यक परेमा धितोपत्र कारोबार रोक्का गर्ने र पुनः सञ्चालन गर्ने सम्बन्धमा स्पष्ट कार्यविधि तयार गर्न पनि नेप्सेलाई निर्देशन दिइएको छ।

प्रभावित कम्पनीहरूको अवस्था, बजारमा परेको प्रभाव तथा निर्देशन कार्यान्वयनको प्रगतिसम्बन्धी प्रतिवेदन नियमित रूपमा बोर्डमा पेस गर्नसमेत भनिएको छ।

हालैको बाढीले विशेषगरी नदी किनारमा सञ्चालित जलविद्युत् आयोजनाको संरचना, पहुँचमार्ग, प्रसारण लाइन तथा विद्युत् उत्पादनमा असर पुर्‍याएको छ। यस्तो अवस्थामा प्रभावित कम्पनीको वास्तविक अवस्था सार्वजनिक हुँदा लगानीकर्ताले सूचित लगानी निर्णय गर्न सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend