बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी कसरी र कहिलेदेखि विकसित भयो?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १६ २०८३
भोटेकोशी बाढी कसरी र कहिलेदेखि विकसित भयो?

हिमचट्टान खस्नेदेखि ल्हेन्दे खोलामा सामग्री जम्मा हुँदै उच्च वेगको बाढी बनेर तल्लो तटीय क्षेत्रमा पुग्दासम्मको घटनाक्रम

काठमाडौं- रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढी अचानक एकैपटक विकसित भएको थिएन। माथिल्लो हिमाली क्षेत्रमा भएको ठूलो हिमचट्टान खस्ने घटनादेखि त्यसपछि हिउँ, चट्टान र ल्हेन्दे खोलामा पुग्ने र त्यहाँबाट उच्च वेगको बाढी बनेर तलतिर फैलिने क्रमबाट विपद् विकसित भएको  वैज्ञानिक अध्ययनले देखाएको छ।

युथ एलायन्स फर इन्भाइरोन्मेन्ट, हिमालयन क्रायोस्फियर, क्लाइमेट एन्ड डिजास्टर रिसर्च सेन्टर, काठमाडौं विश्वविद्यालय र सोसाइटी फर कन्जर्भेसन बायोलोजी नेपालले संयुक्त रूपमा तयार पारेको अध्ययन प्रतिवेदनले हिमनदी, भूगर्भ, जलविज्ञान र विपद् जोखिमका अनुसन्धानकर्तालाई सहभागी गराएर बाढीको सम्भावित विकासक्रम र त्यसको प्रभावका बारेमा तथ्य सार्वजनिक गरेको छ। उच्च रिजोल्युसनका स्याटेलाइट तस्बिर, ड्रोन तथा स्थलगत अवलोकन, रिमोट सेन्सिङ, हाइड्रोलोजिकल मोडलिङ र उपलब्ध सरकारी तथ्यांकका आधारमा अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ।

बिहान ८:३७ बाट घटनाक्रम सुरु

अध्ययनअनुसार बिहान करिब ८:३७ बजे ल्हेन्दे खोलाको माथिल्लो हिमाली क्षेत्रमा ठूलो हिम-चट्टान खसेको थियो। त्यस क्रममा करिब २.२६ वर्गकिलोमिटर क्षेत्रबाट हिम र चट्टान खसेको तथा थप २.९३ वर्गकिलोमिटर क्षेत्रमा कटान भएको देखिएको छ।

त्यसपछि खसेको हिम, चट्टान र माटो  ल्हेन्दे खोलातर्फ बग्यो। अध्ययनले यस क्रममा १४ करोड २० लाख घनमिटरभन्दा बढी सामग्री बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

यति ठूलो परिमाणमा सामग्री खोलामा पुगेपछि नदीको बहावमा अवरोध सिर्जना भएको र त्यसपछि अवरोध भत्किँदा उच्च वेगको बाढी विकसित भएको हुन सक्ने अध्ययनको विश्लेषण छ।

तर नदी वास्तवमै थुनिएको थियो भन्ने प्रत्यक्ष प्रमाण भने अहिलेसम्म प्राप्त नभएको प्रतिवेदनले स्पष्ट गरेको छ। त्यसैले बाढी विकासको यो चरणलाई अध्ययनले सम्भावित घटनाक्रमका रूपमा प्रस्तुत गरेको छ।

स्याफ्रुबेसी पुग्दा बाढीको तीव्र रूप

हाइड्रोलोजिकल मोडलिङले स्याफ्रुबेसी क्षेत्रमा बाढीको अधिकतम बहाव करिब २३ हजार घनमिटर प्रतिसेकेन्ड पुगेको देखाएको छ। त्यहाँ पानीको अधिकतम वेग १५ मिटर प्रतिसेकेन्ड र गहिराइ १५ मिटरसम्म पुगेको अनुमान गरिएको छ।

अध्ययनले गल्छीमा करिब आधा घण्टाभित्र पानीको सतह ९ मिटर र मलेखुमा ७ मिटर बढेको देखाएको छ। छोटो समयमा पानीको सतहमा आएको यो तीव्र वृद्धिले बाढीको प्रवाह अत्यन्त शक्तिशाली रहेको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ।

ठूलो परिमाणमा सामग्री बग्दा बढ्यो जोखिम

अध्ययनले यो घटनालाई पानीको बहावमात्रका रूपमा हेरेको छैन। हिम, चट्टान र माटोको ठूलो मात्रा बाढीसँगै बगेकाले त्यसले बाढीको ऊर्जा र विनाशकारी क्षमता बढाएको अध्ययनको विश्लेषण छ।

यसको प्रभाव तल्लो तटीय क्षेत्रमा पुगेपछि मानवीय बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा ठूलो क्षति भएको प्रतिवेदनमा उल्लेख छ। प्रारम्भिक विवरणअनुसार सयौँ मानिसको मृत्यु तथा हजारौँ मानिस प्रभावित भएका छन्।

जलविद्युत् आयोजना, पुल, सडक र रसुवागढी नाकालगायतका पूर्वाधारमा पनि ठूलो क्षति पुगेको अध्ययनले जनाएको छ। यद्यपि क्षतिको विवरण अझै प्रारम्भिक रहेकाले थप अध्ययनसँगै परिमार्जन हुन सक्ने प्रतिवेदनले स्पष्ट गरेको छ।

वैज्ञानिक अध्ययनले बाढीको सम्भावित विकासक्रम तय गरे पनि घटनासँग जोडिएका केही महत्वपूर्ण प्रश्न अझै खुल्न बाँकी रहेको जनाएको छ। विशेषगरी हिम–चट्टान खस्नुको मुख्य कारण के थियो, ल्हेन्दे खोलाको बहाव वास्तवमै कति समय अवरुद्ध भयो र त्यसमा जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend