बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सगरमाथा आधार शिविरमा मानव गतिविधिले एक सिजनमा पगाल्छ २ हजार ५०० टन हिउँ

पिसाबबाट निस्कने तापले मात्रै १५४ टन हिउँ पग्लिनसक्ने अनुमान

मंगलबार, भदौ १६ २०८३
सगरमाथा आधार शिविरमा मानव गतिविधिले एक सिजनमा पगाल्छ २ हजार ५०० टन हिउँ

बढ्दो मानव गतिविधिले सगरमाथा आधार शिविरको वातावरणीय दिगोपनमाथि प्रश्न उठाएको अध्ययनले जनाएको छ।

काठमाडौं- सगरमाथा आधार शिविरमा आरोहण सिजनका क्रममा हुने मानव गतिविधिबाट उत्पन्न तापीय ऊर्जाले खुम्बु हिमनदीको करिब २ हजार ५०० टन हिउँ र बरफ पगाल्न सक्ने नयाँ अध्ययनले देखाएको छ। खाना पकाउन, ताप लिन र ऊर्जा उत्पादनमा प्रयोग हुने इन्धनसँगै मानव शरीर र पिसाबबाट निस्कने तापले पनि हिमनदी पग्लिने प्रक्रियामा योगदान पुर्‍याउने अध्ययनको निष्कर्ष छ।

नेपालको प्रमुख नापी अधिकृत तथा भू-स्थानिक वैज्ञानिक खिमलाल गौतमले गरेको अनुसन्धान हालैमात्र ‘रिजनल इन्भार्मेन्टल चेन्ज’ जर्नलमा प्रकाशित भएको छ। सोही अनुसन्धान टोलीले नेपालतर्फको सगरमाथा आधार शिविर रहेको खुम्बु हिमनदीमा आरोहण सिजनमा हुने गतिविधिबाट उत्पन्न तापीय ऊर्जाको प्रभाव विश्लेषण गरेको थियो।

अनुसन्धानअनुसार आधार शिविरमा रहेका आरोही र शेर्पा गाइडले दैनिक ६ हजार लिटरभन्दा बढी पिसाब निष्कासन गर्छन्। उच्च हिमाली क्षेत्रमा शरीरमा पानीको कमी हुन नदिन धेरै पानी पिउनुपर्ने भएकाले पिसाबको मात्रा पनि उल्लेख्य हुने अनुसन्धानपत्रमा उल्लेख छ।

आधार शिविरमा दिसा संकलन गरी ट्यांकीमार्फत तल ल्याउने व्यवस्था भए पनि पिसाबको ठूलो हिस्सा भने सिधै हिमनदीमा फालिने गरेको अध्ययनमा उल्लेख छ। अनुसन्धानकर्ताहरूले पिसाबबाट हिमनदीमा सर्ने तापले एक आरोहण सिजनमा करिब १५४ टन हिउँ पगाल्न सक्ने अनुमान गरेका छन्।

अध्ययनका प्रमुख लेखक गौतमले मानव शरीरको स्वाभाविक प्रक्रियातर्फ संकेत गर्दै भनेका छन्, ‘धेरै पानी पिएपछि त्यसलाई बाहिर निकाल्नैपर्छ’।

आधार शिविरमा प्रयोग हुने इन्धनबाट उत्पन्न तापीय ऊर्जाको प्रभाव पनि अध्ययनले विश्लेषण गरेको छ। सन् २०२३ मा आधार शिविर सञ्चालनका लागि ८२४ वटा एलपी ग्यास सिलिन्डर, १८ हजार ९३५ लिटर मट्टितेल र ५ हजार १३० लिटर पेट्रोल प्रयोग भएको तथ्यांक अध्ययनमा समावेश गरिएको छ। यी इन्धन करिब १ हजार ६०० पालमा खाना पकाउन, ताप लिन र ऊर्जा आपूर्तिका लागि प्रयोग भएका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार यी स्रोतबाट करिब ८ लाख ४९ हजार १७४ मेगाजुल तापीय ऊर्जा उत्पन्न भएको थियो। उक्त ऊर्जा करिब २ हजार ४९२ टन हिमनदीको हिउँ र बरफ पगाल्न पर्याप्त हुने अध्ययनको अनुमान छ। अध्ययनले यो परिमाण एक ओलम्पिक आकारको पौडी पोखरी भर्न पुग्ने पानी बराबर भएको जनाएको छ।

तर यो अनुमान वास्तविक प्रभावभन्दा कम हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनमा हेलिकोप्टर उडान, मानव शरीरबाट प्रत्यक्ष निस्कने ताप तथा सामान ढुवानीमा प्रयोग हुने याकजस्ता जनावरबाट उत्पन्न ताप समावेश गरिएको छैन। यी पक्षलाई समेत समेट्दा मानव गतिविधिको तापीय प्रभाव अझ बढी हुन सक्नेछ। 

बढ्दो मानव गतिविधिले सगरमाथा आधार शिविरको वातावरणीय दिगोपनमाथि प्रश्न उठाएको अध्ययनले जनाएको छ। 


प्रकाशित : मंगलबार, भदौ १६ २०८३०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend