बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित

मंगलबार, भदौ १६ २०८३
रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित

रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एशोसिएशनले आक्रोश व्यक्त गरेको छ।

काठमाडौं- रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एशोसिएशनले आक्रोश व्यक्त गरेको छ। बाढी आएको ६ दिनसम्म सयौँ मानिसको उद्धार हुन नसकेको भन्दै एशोसिएशनले सरकारमाथि दबाब बढाउन अभियानसमेत सुरु गरेको जनाएको छ।

सोमबार ललितपुरस्थित एशोसिएशनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुवासचन्द्र बरालले सुरुङभित्र अझै केही व्यक्ति जीवन–मरणको दोसाँधमा रहेको भन्दै तत्काल राज्यको सम्पूर्ण क्षमता परिचालन गर्न सरकारसँग माग गरे।

उहाँका अनुसार बाढी आएको पहिलो दिनदेखि नै एशोसिएशनले उद्धारमा सहयोग गर्ने उद्देश्यले सरकारका विभिन्न निकायसँग निरन्तर समन्वय गर्दै आएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्रका जलविद्युत् आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) लगायतका निकायलाई सम्पर्कविहीन व्यक्तिको तत्काल उद्धारका लागि ध्यानाकर्षण गराइएको उनले बताए।

तर सरकारसँग निरन्तर समन्वय हुँदाहुँदै पनि उद्धार अपेक्षित गतिमा अघि बढ्न नसकेको बरालको भनाइ छ।

‘हामीले सुरुदेखि नै सरकारलाई सहयोग गर्ने भनेर लागिरहेका छौँ। सम्बन्धित सबै निकायलाई साथीहरू सम्पर्कविहीन हुनुहुन्छ भनेर ध्यानाकर्षण गराएका छौँ। हामीलाई विश्वास थियो कि सरकारले काम गरिरहेको छ। तर आज परिणाम आइरहेको छैन,’ बरालले भने।

उनले केही इन्जिनियर तथा प्राविधिकको उद्धार भए पनि अझै केही सुरुङभित्र फसेको र केही सम्पर्कविहीन रहेको बताए। उद्धारमा भइरहेको ढिलाइले अब उनीहरूको जीवन जोखिममा परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

‘उद्धारमा सरकार चुक्यो जस्तो लाग्छ। जुन गतिमा र जुन रूपमा उद्धार हुनुपर्ने हो, त्यो रूपमा उद्धार हुन सकेको छैन,’ बरालले भने।

एशोसिएशनले सरकारसँग सहकार्य गर्न खोज्दासमेत निजी क्षेत्रसँग उपलब्ध विशेषज्ञ जनशक्ति र उपकरणको प्रभावकारी उपयोग हुन नसकेको जनाएको छ। बरालले राज्यसँग भएका सम्पूर्ण स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक परे बाहिरबाट समेत दक्ष जनशक्ति ल्याएर उद्धार गर्नुपर्ने बताए।

‘राज्यको पूर्ण क्षमता परिचालन गरेर वा बाहिरबाट जनशक्ति ल्याएर भए पनि साथीहरूको सकुशल उद्धार गर्ने कुरामा कुनै पनि कसुर बाँकी नराखियोस् भन्ने जोडदार माग गर्दछु। अब समय ढल्किसकेको छ,’ उनले भने।

एशोसिएशनका अनुसार रसुवा बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा कार्यरत ९१० जना इन्जिनियर तथा प्राविधिक र गैरप्राविधिक कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये १८८ जना इन्जिनियर रहेको एशोसिएशनको दाबी छ।

सम्पर्कविहीन इन्जिनियरमध्ये अपर त्रिशूलीमा ६० जना, लाङटाङमा २० जना, रसुवागढी हाइड्रोपावरमा २५ जना, मेलुङमा ६ जना र त्रिशूली ‘ए’मा ३० जना रहेको एशोसिएशनले जनाएको छ।

एशोसिएशनले सुरुङभित्र फसेका तथा बाढीपछि सम्पर्कविहीन सबैको खोज तथा उद्धारका लागि प्राविधिक जनशक्ति, अत्याधुनिक उपकरण र आवश्यक प्रविधि तत्काल परिचालन गर्न सरकारसँग माग गरेको छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend