बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नुवाकोटको एक घरबाट २४ शव फेला, अझै खोजी जारी

मंगलबार, भदौ १६ २०८३
नुवाकोटको एक घरबाट २४ शव फेला, अझै खोजी जारी

रसुवा बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित एउटा घरभित्रबाट एकैपटक २४ वटा शव फेला परेका छन्।

काठमाडौं- रसुवा बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित एउटा घरभित्रबाट एकैपटक २४ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार सोमबार खोजीका क्रममा उक्त घरबाट २४ वटा शव फेला परेका हुन्। घरभित्र अझै खोजी कार्य जारी रहेकाले मृतकको संख्या थपिन सक्ने प्रहरीले जनाएको छ।

‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौं। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ एसपी रेग्मीले भने।

एकै घरभित्र यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घर कसको हो र त्यहाँ मानिसहरू किन जम्मा भएका थिए भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको रेग्मीले बताए।

‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौं,’ उनले भने।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् भने विभिन्न स्थानबाट शव फेला पर्ने क्रम जारी छ।

बाढीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ। जोखिमपूर्ण क्षेत्र र संरचनामा खोजी गर्नुपर्ने भएकाले उद्धार तथा शव खोजी अभियान अझै चुनौतीपूर्ण बनेको छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend