बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रसुवा बाढीको कहर : ६६९ मेगावाटका १२ जलविद्युत् आयोजना प्रभावित, ८९४ जना सम्पर्कविहीन

मंगलबार, भदौ १६ २०८३
रसुवा बाढीको कहर : ६६९ मेगावाटका १२ जलविद्युत् आयोजना प्रभावित, ८९४ जना सम्पर्कविहीन

रसुवामा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र नुवाकोटका ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् भने आयोजनासँग सम्बन्धित ८९४ जना अझै सम्पर्कविहीन छन्।

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र नुवाकोटका ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् भने आयोजनासँग सम्बन्धित ८९४ जना अझै सम्पर्कविहीन छन्। बाढीले विद्युत् उत्पादनदेखि निर्माणाधीन आयोजनासम्मका संरचना क्षतिग्रस्त बनाउँदा जलविद्युत् क्षेत्रमा गरिएको अर्बौं रुपैयाँको लगानीसमेत जोखिममा परेको छ।

प्राप्त प्रारम्भिक विवरणअनुसार प्रभावित १२ आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन छन्। रसुवा जिल्लामा मात्रै ४९४ मेगावाट क्षमताका ६ वटा आयोजना प्रभावित भएका छन् र ती आयोजनासँग सम्बन्धित ७२६ जना सम्पर्कविहीन छन्। नुवाकोटमा १७६ मेगावाट क्षमताका ६ आयोजना प्रभावित हुँदा थप १६८ जना सम्पर्कविहीन रहेको विवरण छ।

तर बाढीको सबैभन्दा गम्भीर प्रभाव आयोजनाको संरचनाभन्दा मानवीय क्षतिमा देखिएको छ। आयोजनास्थलमा काम गरिरहेका सयौं मजदुर, कर्मचारी, प्राविधिक तथा ठेकेदार कम्पनीका जनशक्ति सम्पर्कविहीन छन्। कतिपय व्यक्ति सुरुङभित्रै फसेको आशंका गरिए पनि बाढीले सडक, पहुँचमार्ग, विद्युत्गृह र सुरुङको मुखमा थुपारेको ढुंगा-माटोका कारण उद्धार टोलीलाई आयोजनास्थलसम्म पुग्नै कठिन भइरहेको छ।

रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा मात्रै ५७३ जना सम्पर्कविहीन छन्। आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी तथा कर्मचारीसहितको यो संख्या हो। सम्पर्कविहीनमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने व्यक्ति रहेको अनुमान छ। उनीहरू बाढी आउँदा सुरुङभित्र थिए वा प्रवेश गर्ने क्रममा थिए भन्ने यकिन हुन सकेको छैन।

बाढी आएको दिन आयोजनास्थलमा करिब १ हजार ४०० भन्दा बढी मानिस कार्यरत रहेको हुन सक्ने अनुमान गरिएको छ। सोमबार थप तीन जनाको उद्धार भएपछि आयोजनाबाट उद्धार भएर सम्पर्कमा आएका व्यक्तिको संख्या ८७३ पुगेको बताइएको छ। तर सयौं व्यक्ति अझै सम्पर्कविहीन रहेकाले माथिल्लो त्रिशूली-१ अहिले खोजी तथा उद्धारको सबैभन्दा ठूलो चुनौती बनेको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको अवस्था पनि गम्भीर छ। आयोजनाका कर्मचारीसहित ९३ जना सम्पर्कविहीन छन्। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सोमबार विद्युत्गृहको सुरुङभित्र प्रवेश गरेर खोजीमा गएको थियो। सुरुङको भित्री भागमा ड्रोनबाट समेत अवलोकन गरिएको थियो। तर कोही फेला नपरेपछि टोली धुन्चे फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंकामा खोजी गरिएको थियो।

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा पनि उद्धार प्रयास सहज हुन सकेको छैन। नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली तथा आयोजनाका कर्मचारीले विद्युत्गृहसम्म पुग्ने बाटो खुलाउने प्रयास गरिरहेका छन्। करिब २५० मिटर लामो सुरुङमध्ये उद्धार टोली ९० मिटरसम्म पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन। आयोजनामा ८ जना सम्पर्कविहीन छन्।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुगेको छ। भारतीय सेना तथा प्राविधिकसहितको टोलीले आयोजनास्थलको निरीक्षण गरे पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन। आयोजनाले मंगलबारदेखि आफ्नै तर्फबाट समेत उद्धार प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यहाँ ४१ जना सम्पर्कविहीन रहेको विवरण छ।

उता, नुवाकोटको ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ मा पनि उद्धार कार्य झन् कठिन बनेको छ। सुरुङभित्र फसेकाहरूलाई निकाल्न सोमबार २४ घण्टा उद्धार प्रयास गरिएको थियो। टनेल पोर्टल सफा गर्ने क्रममा क्राउन ब्लास्ट गर्दा सुरुङभित्र पानी रहेको पत्ता लागेको थियो। त्यसपछि वाटर पम्प सेट प्रयोग गरेर सुरुङको पानी हटाउने काम सुरु गरिएको छ।

सुरुङको मुखमा थुप्रिएको ढुंगा-माटो हटाएर भित्र प्रवेश गर्न सकिने मार्ग बनाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुरुङभित्र फसेकाहरूलाई बचाउन सकिने आशासहित प्राविधिक टोलीले निरन्तर काम गरिरहेको बताएका छन्। तर सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। माथिल्लो त्रिशूली-३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन छन्।

३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनामा बाढीले आयोजनाका अधिकांश संरचना बगाएको छ। आयोजनाबाट १२२ जना सम्पर्कविहीन छन्। आयोजनासँगै रहेको २२० केभी त्रिशूली-३ ‘बी’ हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेको छ। संरचना नै बगिसकेकाले खोजी तथा उद्धार कार्य थप जटिल बनेको छ।

बाढीले रसुवा-भोटेकोशी १२० मेगावाट, मैलुङ खोला ५ मेगावाट, मिडल त्रिशूली गंगा १५.६ मेगावाटलगायतका आयोजनामा समेत क्षति पुर्‍याएको छ। रसुवा-भोटेकोशीमा ४ जना, मैलुङ खोलामा ७ जना र मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन छन्।

जलविद्युत् आयोजनाको यो क्षति तत्कालको उत्पादन अवरोधमा मात्र सीमित हुने देखिँदैन। सञ्चालनमा रहेका आयोजना क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन प्रभावित हुने र निर्माणाधीन आयोजनाको संरचना पुनःनिर्माण गर्न थप समय र ठूलो लगानी आवश्यक पर्ने अवस्था आएको छ। बाढीले पहुँचमार्गदेखि सुरुङ, विद्युत्गृह, सबस्टेसन र निर्माणाधीन संरचनासम्म क्षति पुर्‍याएकाले आयोजनाहरूको पुनःनिर्माणको लागतसमेत उल्लेख्य बढ्ने जोखिम छ।

विशेषगरी माथिल्लो त्रिशूली-१, रसुवागढी, रसुवा-भोटेकोशी, माथिल्लो त्रिशूली-३ ‘ए’ र ‘बी’ जस्ता ठूला आयोजनामा परेको क्षतिले नेपालको जलविद्युत् पूर्वाधार कति प्राकृतिक विपद्को जोखिममा छ भन्ने प्रश्नसमेत उठाएको छ। एउटै बाढीले सयौं मेगावाट क्षमताका आयोजना प्रभावित हुनुका साथै निर्माणको अन्तिम चरणमा रहेका र सञ्चालनमा आएका आयोजनासमेत जोखिममा परेका छन्।

अहिले भने आयोजनाको क्षतिको आर्थिक मूल्यांकनभन्दा पनि सुरुङ तथा आयोजनास्थलमा सम्पर्कविहीन रहेका व्यक्तिको खोजी र उद्धार पहिलो प्राथमिकता बनेको छ। नेपाली सेना, आयोजनाका प्राविधिक, भारतीय प्राविधिक टोली, पर्वतारोही र अन्य उद्धार जनशक्ति परिचालन गरिए पनि सुरुङभित्र पानी, ढुंगा-माटो र क्षतिग्रस्त पहुँचमार्गका कारण उद्धारमा अपेक्षित सफलता मिल्न सकेको छैन।

रसुवा बाढीपछि जलविद्युत् क्षेत्रमा देखिएको यो संकटले मानवीय उद्धारसँगै अर्बौं रुपैयाँको पूर्वाधार पुनःस्थापना र लगानी सुरक्षाको अर्को चुनौती पनि थपेको छ। सम्पर्कविहीन व्यक्तिको खोजी सकिएपछि मात्रै आयोजनागत क्षति, उत्पादनमा परेको असर र पुनःनिर्माणका लागि आवश्यक लगानीको वास्तविक आकार स्पष्ट हुने देखिएको छ।


प्रकाशित : मंगलबार, भदौ १६ २०८३०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend