काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित विभिन्न क्षेत्रमा मर्मतसम्भार तथा सेवा सुचारुको काम जारी राखेको छ।
सोमबार रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरिएको टेलिकमले जनाएको छ। यससँगै बाढीबाट प्रभावित भएका १२० साइटमध्ये ११० साइट सुचारु भएका छन्।
जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्लेलगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।
त्यसैगरी, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्।
बेनीघाट साइटबाट बेनीघाट बजारलगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ।