गएको बुधबार बिहान हिम चट्टान झरेर नेपाल-चीन सीमाको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा पुग्दा सयौँ बस्ती उजाड बन्यो। मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम चलिरहँदा त्यो त्रासदीबाट बाँचेर निस्कन सफलहरूले कहालीलाग्दो दु:ख सुनाइरहेका छन्।
नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा प्रवेश गरेको हो।
रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने त्रिशुली नदीतटीय क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ।
त्यही बाढीमा उत्तरगयाबाट जोगिएर भाग्न सफल भएका डा. प्रदीप दुवाडी त्यो दिन यसरी सम्झन्छन् -
भदौ १० गते बिहान ठीक ९ बजे म उत्तरगया गाउँपालिकाको कामका लागि लहरेपौवा माझगाउँस्थित मेरो कार्यालयबाट निस्किएँ। गाउँपालिका-५ को कार्यालयतिर जाँदै थिएँ। बाटोमा इन्जिनियर सुरज प्याकुरेलसँग भेट भयो। उहाँ पनि गाउँपालिका हुँदै मैलुङ जान लाग्नुभएको रहेछ। त्यसपछि म उहाँकै स्कुटरमा बसेर सँगै गएँ।
लहरे पुगेपछि मेरा मित्र डा. हिमाल श्रेष्ठले फोन गर्नुभयो। उहाँले ‘कता हुनुहुन्छ?’ भनेर सोध्नुभयो। मैले गाउँपालिका, वेत्रावतीतिर जाँदैछु भनेँ। उहाँले ‘ठूलो बाढी आएको खबर आएको छ, तपाईंहरू त्यतातिर नजानुहोस्’ भन्नुभयो।
त्यसपछि हामीले स्कुटर रोक्यौँ। मैलुङका शंकर घिमिरे सरलाई पनि फोन गरेर सुरक्षित स्थानमा जान भन्यौँ। त्यसपछि फेरि अगाडि बढ्यौँ।
वेत्रावतीको घुम्तीमा पुगेपछि मैले सरलाई त्यहीँ रोक्न अनुरोध गरेँ। स्कुटर रोकेर हामी पालिकातिर हिँड्दै ओरालो लाग्यौँ। तर मलाई त्यहाँ जान डर लागिरहेको थियो। मैले सरलाई पटक-पटक ‘अहिले नजाऔँ’ भनिरहेको थिएँ।
त्यही बेला अगाडिबाट ठूलो आवाज आयो। हेर्दाहेर्दै बेत्रावती नदीको ठूलो भेल हामीनजिकै आइपुग्न लाग्यो। हामी दुवै आत्तियौँ। त्यसपछि त्यहाँबाट फर्किएर दौडिँदै उकालोतर्फ लाग्यौँ।
सर निकै आत्तिनुभयो। उहाँले ‘मरिने भो’ भन्नुभयो। मैले उहाँलाई भनेँ, ‘सर, बाँचुन्जेल त दौडिनुपर्छ। दौडिनुहोस्।’
म अगाडिअगाडि दौडिएँ, सर पछिपछि आउनुभयो। हामी ज्यान जोगाउन उकालो चढिरहेका थियौँ।
उकालो लाग्दै गर्दा पारि सोलेतिर घरबाट भाग्दै गरेका मानिसहरू देखिए। आफ्नै आँखाअगाडि ती मानिसहरूलाई नदीले बगायो। मान्छेहरू ज्यान जोगाउन भागिरहेका थिए तर नदीको भेलले उनीहरूलाई छोडेन।
हामी अझै माथि उकालो लाग्यौँ। केही माथि पुगेपछि बेत्रावती पुलमा करिब ३०/४० जना मानिस जम्मा भएको देखेँ। उनीहरू पुलमा सुरक्षित हुन्छौँ भनेर बसेका रहेछन्। तर केही क्षणमै नदीले पुल नै बगायो।
करिब ३०/४० जना मानिसलाई एकैपटक आँखैअगाडि बाढीले बगाएको देखेँ।
त्यो दृश्य देखेपछि अब हामी पनि बाँच्दैनौँ भन्ने लाग्यो। जीवन र मृत्युबीच त्यति थोरै दुरी हुन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ।
हामीले केहीबेरअघि रोकेको स्कुटर पनि बाढीले बगाइसकेको थियो। हामी भने समयमै उकालो लागेकाले बच्यौँ।
त्यो दिन हामी केही मिनेट ढिला उकालो लागेका भए हाम्रो अवस्था पनि के हुन्थ्यो भन्न सक्दिनँ। आफ्नै आँखाअगाडि मान्छेहरू बगेको, पुल बगेको र आफूले रोकेको स्कुटरसमेत बगेको देख्दा त्यो क्षण अहिले पनि सम्झँदा शरीर सिरिङ्ग हुन्छ।
मलाई लाग्छ, त्यो दिन मैले पुनर्जन्म पाएँ।
त्यसैले डा. हिमाल श्रेष्ठलाई धन्यवाद दिन चाहन्छु। उहाँले समयमै फोन गरेर ‘नजानुहोस्’ नभन्नुभएको भए हामी अझ अगाडि पुगिसकेका हुन्थ्यौँ। धन्यवाद डा. हिमाल। तपाईंको एउटा फोनले हाम्रो जीवन बचायो।