बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भासिँदै गएको कृष्णभीर सडकको तत्काल मर्मतसम्भार कठिन, वैकल्पिक बाटोको खोजी

सोमबार, भदौ १५ २०८३
भासिँदै गएको कृष्णभीर सडकको तत्काल मर्मतसम्भार कठिन, वैकल्पिक बाटोको खोजी

पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्नेछन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखातिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो।

चितवन- पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरेपछि तत्कालै सडक बन्ने अवस्था नभएसँगै वैकल्पिक मार्गको खोजी थालिएको हो।

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तररुपमा छ। सडकको झन्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। यससँगै पैदलयात्रासमेत रोकिएको छ। तत्काल सडक बनाउन सक्ने अवस्था छैन। विज्ञहरुले वैकल्पिक अध्ययन थालेको उनले बताए।

पश्चिम खण्ड प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीले सडक तत्काल बनाउन सक्ने अवस्था नभएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताए। उनका अनुसार कटानका कारण सडकको भित्तोसमेत चर्किएको छ।

खोलाले सडकको फेद कटान गरिरहेको उनले बताए। इन्जिनियर अधिकारीले भने, 'खोलाले कटान गरिरहेको छ। कति झर्छ यकिन भन्न सकिने अवस्था छैन।'

सडकको भित्तो माथिको डाँडाको अवस्था हेर्ने काम भइरहेको बताउँदै उनले विषय विज्ञले विस्तृत अध्ययन गरेर कसरी काम गर्ने भन्ने टुंगो लाग्ने उनी बताउँछन्। माथि डाँडामा बस्तीसमेत रहेको भन्दै उनले भित्तो काट्न पनि सम्भव नभएको बताए।

उनले भने, 'भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ।' सडक तत्काल बनाउन नसकिने भएपछि धादिङको बेनीघाट-आरुघाट-गोरखा, गल्छी-धादिङको सुनौलो बजार-धादिङबेँसी-सल्यानटार-गोरखा हुँदै आउनेसहितका अन्य सडकको अध्ययन भइरहेको उनले बताए।

पृथ्वी राजमार्गबाट पारी तरेर त्यहाँको राम्रो बाटो प्रयोग गरी गन्तव्यतर्फ जान सकिने बाटोको खोजी भइरहेको हो। तत्काल मर्मतसम्भार गरेर चलाउन सकिने सडकलाई खोजी गरी तत्काल सञ्चालनमा ल्याउन लागिएको उनी बताउँछन्।

पूर्वबाट आएका सवारीसाधन मकवानपुरका बाटो प्रयोग गर्न सक्नेछन् भने पश्चिम र पोखरातर्फका सवारीसाधनलाई गोरखातिरबाट वैकल्पिक बाटो खोजी गरिएको हो। यो सडक राजधानीका लागि लाइफलाइन सडक हो। राजधानीमा ग्यासका बुलेट लगायतका ठूला गाडीसमेत लैजानुपर्ने हुन्छ।

यस सडकमा दैनिक १४ हजार हाराहारी सवारी गुड्ने गर्दछन्। केही वर्ष अघिसम्म निकै दुःख दिएको कृष्णभीरको मर्मतसम्भार र पहिरो रोकथामका काम गरेपछि पछिल्ला वर्षहरुमा समस्या भएको थिएन। रासस


प्रकाशित : सोमबार, भदौ १५ २०८३१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend