काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि गोरखा समाज अस्ट्रेलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ हजार अस्ट्रेलियन डलर सहयोग गरेको छ।
गोरखा समाज अस्ट्रेलियाको पहलमा संकलन भएको उक्त रकम समाजका सदस्य, पदाधिकारी तथा अन्य सहयोगीहरूको योगदानबाट जुटाइएको हो। रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ भने धेरै मानिस प्रभावित भएका छन्।
विपत्तिको यो कठिन समयमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको गोरखा समाज अस्ट्रेलियाले जनाएको छ।
नेपालमा आएको विपत्तिमा प्रवासमा रहेका नेपाली समुदायबाट सहयोग जुट्ने क्रम बढिरहेका बेला गोरखा समाज अस्ट्रेलियाको यो योगदान पनि राहत तथा उद्धार अभियानमा जोडिएको छ।
समाजले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ।
‘टुगेदर, वी स्ट्यान्ड विथ नेपाल’ भन्ने भावनासहित गरिएको यो सहयोगले विपत्तिमा परेका नेपालीप्रति प्रवासी समुदायको ऐक्यबद्धता देखाएको छ।