मंगलबार, असोज १ गते २०८१    
images
images

कालीगण्डकीमा जल पर्यटनको सम्भावना

images
शनिबार, चैत २६ २०७८
images
images
कालीगण्डकीमा जल पर्यटनको सम्भावना

युवाका लागि नगरपालिकाले सञ्चालन गरेको यस तालिम अति उपयोगी र रोजगारको अवसर सिर्जना गर्ने खालको रहेको बताउँछन्, अर्का युवा श्रीकृष्ण भण्डारी। 

images
images

रामपुर- कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउँछन्। पर्यटन प्रवर्द्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ। 

images
images
images

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा यहाँ सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’ पश्चात् आफूले व्यावसायिक तवरले जलयात्रा चलाउन सक्ने सीप हासिल गरेको उनले बताए। उनी भन्छन्, 'युवाका लागि लक्षित यस तालिमबाट कालीगण्डकीमा अब व्यावसायिक रुपमा नै जलयात्रा चलाउन सकिने आत्मबल बढेको छ, रामपुर नगरपालिकाको समन्वयमा युवा मिलेर व्यवसाय चलाउने सोच बनाइएको छ।' 

नदीमा नै प्रयोगात्मक रुपमा सिकेको सिकाइले अब ढुक्कका साथ जलयात्रा चलाउन सकिने हौसला बढेको उनको भनाइ छ। युवाका लागि नगरपालिकाले सञ्चालन गरेको यस तालिम अति उपयोगी र रोजगारको अवसर सिर्जना गर्ने खालको रहेको बताउँछन्, अर्का युवा श्रीकृष्ण भण्डारी। 

'अन्य सिकाइभन्दा जलयात्रासम्बन्धी ज्ञान, सीप छिटो र व्यावहारिक सिकाइ बनेको छ, यस तालिमले बेरोजगार रहेका युवालाई राम्रो आयआर्जन गर्ने माध्यम मात्र नभई कालीगण्डकीको पर्यटन विकासमा ठूलो सघाउ पुग्नेछ,' भण्डारीले भने। 

images

तालिममा आर्जन गरेको सीपलाई अब व्यावसायिकतामा जोड दिने यहाँका युवाले सोच बनाएका छन्। दक्ष प्रशिक्षकबाट नदीको सरसफाइ, जलयात्राका लागि सम्भावित क्षेत्र, जलयात्रामा हुने खतरा र त्यसको समाधान, उद्धार गर्ने तरिका, पौडी खेल्ने, भैपरी आउने घटनाबारे कसरी समाधान गर्ने लगायतका सम्बन्धमा प्रयोगात्मक ज्ञान सीप सिकाइएको छ। 

यस क्षेत्रका लागि नयाँ कार्य भएको हुँदा तालिममा सहभागी युवाले सोचेभन्दा बढी ध्यान दिएर सीप सिकेको मुख्य प्रशिक्षक विष्णु गुरुङले बताए। 'सुरुका दिन केही कठिनाइ भए पनि पछि राम्रोसँग युवाले चासो दिएर सिक्नुभयो, तालिम अवधिको १३ दिनको समय कसरी सकियो भन्ने पत्तो भएन, सहभागीले भित्री मनदेखि नै सीप सिक्न इच्छुक भएकाले पनि हामीलाई सिकाउन समस्या भएन,' प्रशिक्षक गुरुङले भने। 

त्रिशुली, भोटेकोसी, मर्स्याङ्दी, तमोरलगायत नदीमा यससम्बन्धी तालिम दिँदै आएको उल्लेख गर्दै उनले कालीगण्डकी करिडोर सडकले कालीगण्डकीमा जलयात्राको व्यावसायिकता फस्टाउने गुरुङले बताए। लुम्बिनी, पोखरा र नारायणगढ जस्ता ठूला सहरलाई कालीगण्डकी करिडोरले जोडेको हुँदा यहाँ नियमित रुपमा जलयात्रा सञ्चालन गर्न सकेमा आयआर्जनको दरिलो स्रोत बन्ने उनको अनुवभ छ। बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटनलाई प्राथमिकता दिएर व्यवसाय चलाउन प्रशिक्षक गुरुङले जोड दिए।   

यातायातको सहजले कालीगण्डकीमा व्यावसायिक जलयात्रा चलाउन सरोकारवाला निकायको माग छ। व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गर्न इच्छुक युवालाई नगरपालिकाले सहयोग गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताए। 'कालीगण्डकीको महत्वलाई उजागर गर्दै पर्यटन विकास र आयआर्जनसँग जोड्ने गरी युवालाई लक्षित गरी जलयात्रा तालिम आयोजना गरेका हौँ, नियमित रुपमा जलयात्रा चलाउन इच्छुक युवालाई नगरले आवश्यक सहयोग गर्नेछ,' नगरप्रमुख थापाले भने। 
 
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) को सहकार्यमा सञ्चालन भएको तालिममा रामपुर नगरभित्रका २१ युवा सहभागी थिए।

कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित जलयात्रा चलाउन कर्णाली र्‍याफ्टिङ एन्ड एड्भेन्चरका विज्ञसहितको टोलीले तीन वर्षअघि नै तीन खण्डमा कालीगण्डकीमा सफल परीक्षण गरेका थिए। सो परीक्षणपश्चात यो क्षेत्र पारिवारिक जलयात्राका लागि अति उत्तम मानिएको विज्ञ सहितको टोलीले निष्कर्ष निकालेपछि यसले चर्चा पाएको छ। 

रामपुर नगरको आयोजनामा बृहत रुपमा राम्दीदेखि पुट्टारघाटसम्म सफलतापूर्वक जलयात्रा महोत्सव पनि आयोजना यसअघि नै भएको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण, शालिग्राम पाइने नदीका नामले विश्वसामु परिचित बनेको यो नदीमा अब नियमित जलयात्रा गरेर आम्दानीको स्रोत जुटाउन सकिन्छ।

चारैतिरबाट सडक सञ्जाल जोडिएको यो क्षेत्र धार्मिक, पर्यटकीय क्षेत्रका हिसाबले अत्यन्तै राम्रो मानिएकाले नदीको बहेको पानीबाट पनि आर्थिक लाभ लिने गरी नियमित जलयात्रा सञ्चालन गरेको खण्डमा तल्लो तटीय क्षेत्रका नागरिकले आर्थिक लाभ लिनेछन्। 

कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, नियमित जलयात्रा गरी रोजगारीबाट आयआर्जन बढाउन, विश्वभर कालीगण्डकीलाई चिनाउन, नदी र जीवनको महत्व जोडिने भएको हुँदा यसको उपयोग गरी स्थानीयवासीले प्रशस्त आम्दानी गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

धार्मिक महत्वका हिसाबले परिचित यस नदीमा जलयात्राबाट धेरैलाई रोजीरोटी गर्ने अवसर प्रदान गर्न सकिनेछ। नेपाल सरकारले कालीगण्डकी नदीको राम्दीदेखि देवघाटसम्म जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी अगाडि बढाएको छ। चौथो राष्ट्रिय नदी महोत्सव पनि कालीगण्डकीमा गर्ने तयारी छ। रासस


प्रकाशित : शनिबार, चैत २६ २०७८०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend