बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढीपछि विज्ञको प्रतिक्रिया- हिमालमा जलवायु जोखिम बढ्दैछ, अनुकूलन र पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्छ

सोमबार, भदौ १५ २०८३
भोटेकोशी बाढीपछि विज्ञको प्रतिक्रिया- हिमालमा जलवायु जोखिम बढ्दैछ, अनुकूलन र पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्छ

भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय विज्ञहरूले हिमालयमा जलवायु परिवर्तनले जोखिमको स्वरूप बदलिरहेको अवस्थामा पूर्वसूचना, वैज्ञानिक निगरानी, पूर्वाधारको जोखिम मूल्यांकन र समुदायको अनुकूलन क्षमता बढाउनुपर्ने बताएका छन्।

काठमाडौं- भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि अन्तर्राष्ट्रिय विज्ञहरूले हिमालयमा जलवायु परिवर्तनले बढाइरहेको जोखिम, कमजोर पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा देखिएका चुनौतीलाई प्रमुख रूपमा उठाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको ‘इनसाइड’ कार्यक्रममा २८ अगस्टमा सहभागी जलवायु तथा हिमाली क्षेत्रका तीन विज्ञले नेपाल–तिब्बत सीमामा भएको बाढीलाई जलवायु परिवर्तन, हिमनदीको अस्थिरता र बढ्दो चरम मौसमी घटनाको सन्दर्भमा हेर्नुपर्ने बताएका छन्। कार्यक्रममा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का महानिर्देशक पेमा ग्याम्छो, सिटी युनिभर्सिटी अफ हङकङका पृथ्वी विज्ञानका प्राध्यापक बेन्जामिन हर्टन र फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका इमेरिटस अनुसन्धान निर्देशक उल्फग्याङ क्र्यामर सहभागी थिए।

कार्यक्रमको मुख्य प्रश्न नै जलवायु परिवर्तनले यस्ता विपद्को जोखिम कति बढाइरहेको छ र भविष्यमा हिमाली समुदायलाई कसरी सुरक्षित बनाउने भन्ने थियो। 

हर्टनले नेपाल तिब्बतको पछिल्लो विपद्लाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनका अनुसार हिमालय विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको छ, जसले हिमनदीमा बरफको मात्रा घटाउने मात्र होइन, पहाडी भूभागलाई समेत अस्थिर बनाउन सक्छ।

हर्टनले आफ्नो पछिल्लो सार्वजनिक टिप्पणीमा नेपालमा भएको विपद्लाई एकै कारणले भएको घटना नभई विभिन्न जोखिम एकै ठाउँमा जोडिएको ‘कम्पाउन्ड डिजास्टर’ का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार हिमनदी पग्लिने, पहाडी भिर अस्थिर हुने र बाढी तथा पहिरोको जोखिम बढ्ने क्रमसँगै मानिसको जोखिमपूर्ण क्षेत्रमा बसोबास, कमजोर पूर्वाधार र अपर्याप्त पूर्वसूचना प्रणालीले क्षति अझ ठूलो बनाउन सक्छ।

हर्टनले अलजजिरासँगको कुराकानीपछि सामाजिक सञ्जालमा लेख्दै जलवायु परिवर्तनले यस्ता विपद्को सम्भावना बढाइरहेको र पूर्वानुमान, पूर्वसूचना, बलियो पूर्वाधार, भू–उपयोग योजना तथा जलवायु अनुकूलनमा लगानी आवश्यक रहेको बताएका छन्।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले हिमालयमा हुने विपद्को प्रभाव सीमित भौगोलिक क्षेत्रमा मात्र नरहने विषयलाई जोड दिएका छन्।

नेपाल–तिब्बत सीमामा भएको घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै विपद्को जोखिम कसरी बदलिँदैछ भन्ने प्रश्न उठाएको छ। भोटेकोशी र त्रिशूली हुँदै बाढीको प्रभाव तलतिर फैलिनुले हिमाली क्षेत्रमा हुने घटनाको असर नदी प्रणालीसँग जोडिएका धेरै भूभागमा पुग्न सक्ने देखाएको उनको भनाइ छ।

फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका इमेरिटस अनुसन्धान निर्देशक उल्फग्याङ क्र्यामरले पनि हिमाली विपद्लाई बदलिंदो जलवायुको व्यापक सन्दर्भमा हेर्नुपर्ने धारणा राखेका छन्।

पछिल्लो बाढीलाई तत्कालको प्राकृतिक प्रकोपका रूपमा मात्र नभई जलवायु परिवर्तन, वातावरणीय जोखिम र मानव समुदायको अनुकूलन क्षमताबीचको सम्बन्ध का रूपमा हेर्नुपर्ने उनको भनाइ छ। 

भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय विज्ञहरूले हिमालयमा जलवायु परिवर्तनले जोखिमको स्वरूप बदलिरहेको अवस्थामा पूर्वसूचना, वैज्ञानिक निगरानी, पूर्वाधारको जोखिम मूल्यांकन र समुदायको अनुकूलन क्षमता बढाउनुपर्ने बताएका छन्। 


प्रकाशित : सोमबार, भदौ १५ २०८३०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend