काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालको हिमाली क्षेत्रमा जलविद्युत् आयोजना र अन्य पूर्वाधार निर्माणको जोखिम मूल्यांकनमाथि गम्भीर प्रश्न उठाएको छ।
बाढीले आयोजना, सडक, पुल र प्रसारण संरचनामा पुर्याएको क्षतिसँगै विज्ञहरूले हिमाली विपद्लाई हेर्ने नेपालको परम्परागत दृष्टिकोण नै बदल्नुपर्ने बताएका छन्।
नेपाल बाहिरका सञ्चारमाध्यमहरूले हिमपहिरो, त्यसको प्रभावसँगै ऊर्जाको क्षेत्रमा पनि जोखिको विषयमा बहस चलाएका छन्। तिनै मिडियाहरूमा वभिन्न क्षेत्रका विज्ञहरुले अहिलेसम्मको नेपालको बिजुली उत्पादनको विकासको पद्धतिमा हेरफेर गर्नुपर्ने औंल्याएका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विज्ञ सस्वता सन्यालले लेन्दे खोलामा १४ महिनाभित्र दोस्रोपटक ठूलो बाढी आउनु झन् जोखिमपूर्ण रहेको बताएका छन्। उनले हिमाली क्षेत्रमा यस्ता घटना एकअर्कासँग जोडिएर आउने भएकाले पूर्वचेतावनी प्रणालीलाई जोखिम न्यूनीकरणको मुख्य आधार बनाउनुपर्ने बताएका छन्।
दक्षिण एसिया ड्याम्स, रिभर्स एन्ड पिपुल्सका संयोजक हिमांशु ठक्करले ब्लुमबर्गसँग कुरा गर्दै ठक्करले जोखिम र लाभको विस्तृत तथा वैज्ञानिक मूल्यांकन नगरी जलविद्युत् आयोजना अघि बढाउन नहुने बताएका छन्। उनका अनुसार आयोजना निर्माणको निर्णयअघि सम्भावित जोखिम र त्यसबाट हुने लाभ दुवैको गहिरो मूल्यांकन आवश्यक छ।
भोटेकोशीपछि उनले विपदबाट सिक्न र घटनाको स्वतन्त्र रूपमा समीक्षा गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्। हिन्दुस्तान टाइम्सले उद्धृत गरेको उनको भनाइअनुसार विपद्का घटनाको पूर्ण लेखाजोखा गरेरमात्र अघि बढ्नुपर्छ।
लेन्दे खोलामा छोटो अवधिमै दोहोरिएको ठूलो बाढी र भोटेकोशीमा देखिएको क्षतिले यस्ता घटना अझै पनि असाधारण र दुर्लभ घटना मान्ने भूल गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै हिमनदी, हिउँ र चट्टानको अवस्थासमेत परिवर्तन भइरहेको छ। यसले पहिलेदेखि रहेका भौगोलिक जोखिमलाई थप जटिल बनाउन सक्छ। इसिमोडका विशेषज्ञ मोहम्मद फारुक आजमले हिमाली क्षेत्रमा क्रायोस्फियरसँग सम्बन्धित जोखिम बढिरहेको र त्यसको गति तयारी क्षमताभन्दा तीव्र हुन सक्ने बताएका छन्। सीमापार प्रकृतिका यस्ता जोखिम सामना गर्न सम्बन्धित देशबीच सहकार्य आवश्यक रहेको उनको जोड छ।
भोटेकोशी बाढीका बेला जमिन र नदी प्रणाली पहिल्यै पानीले भरिएको अवस्थाले पनि जोखिम बढाएको उनको भनाइ छ।
नेपालमा ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ तर बदलिँदो हिमाली भूगोलले आयोजनाको सुरक्षामा कस्तो असर गर्छ भनेर हेर्नुपर्ने औँल्याएका छन्।
भोटेकोशी क्षेत्रमा भू-आकृतिक जोखिमबारे यसअघि नै अध्ययन भएका छन्। २०२५ मा प्रकाशित एक अध्ययनले भोटेकोशी जलविद्युत् क्षेत्रका केही ढलानमा संरचनागत कमजोरी र पहिरो तथा चट्टान खस्ने जोखिम रहेको देखाएको थियो। अध्ययनले निरन्तर निगरानी र ढलान स्थिरीकरणको आवश्यकता औँल्याएको थियो।