काठमाडौं- 'त्रिशुली थ्री ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम भएको छ।
टनेल पोर्टसम्म उद्धार टोली पुगिसकेको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ। पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ।
उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अगाडि बढ्नेछन्। उद्धारकर्मीसँग क्यामरा पनि पठाइनेछ, जसबाट भित्रको वास्तविक अवस्था बाहिरबाट हेर्न सकिनेछ।
पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि कामदारले काम गरिरहेको सम्भावित ठाउँसम्म पुग्न सकिने अनुमान छ।
उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) भेटिएको र त्यसलाई एक्साभेटर प्रयोग गरेर फुटाई खुलाउने कार्य अघि बढाएको छ। अवरोध हटाएर सुरुङमा सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउन पहल भइरहेको छ।
उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएर त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो।
उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन्।