बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

त्रिशुलीको बाढीले पृथ्वी राजमार्ग जोड्ने गोरखाका तीन झोलुङ्‍गे पुल बग्यो, किसानलाई तरकारी र दूध बेच्न समस्या

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १४ २०८३
त्रिशुलीको बाढीले पृथ्वी राजमार्ग जोड्ने गोरखाका तीन झोलुङ्‍गे पुल बग्यो, किसानलाई तरकारी र दूध बेच्न समस्या

'घ्याल्चोकका करिब ४ सय घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो, अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए।'

गोरखा- त्रिशुलीमा आज आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका-८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्‍गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिएका छन्।

पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशुली तरेर राजमार्गतर्फ जान समस्या भएको छ। 'घ्याल्चोकका करिब ४ सय घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो', उनले भने, 'अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए।'

यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो। सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए। यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउँछन्।

घ्याल्चोक-चरौँदी जोड्ने १३० मिटर लामो पुल ६ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ।

योसँगै त्रिशुलीको बाढीले गोरखामा तीन वटा झोलुङ्‍गे पुल बगाएको छ भने एउटा पुल पूर्णरूपमा क्षति भएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १४ २०८३१५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend