काठमाडौं- रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गर्ने घोषणा गरेको हो।
अर्घाखाँची सिमेन्टले बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकसँगै रहेको कम्पनीले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने १ करोड ११ लाख रुपैयाँले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ।