काठमाडौं- रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण 'त्रिशुली थ्री ए' जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएर त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो।
नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।
उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन्। प्रभावित जिल्लाहरूमा करिब ८ हजार ४ सयभन्दा बढी फौज खटिइ समन्वयात्मक रूपमा काम गरिरहेको सेनाले जनाएको छ।