बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मासटार-कुरिनटार हुँदै धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालन

आइतबार, भदौ १४ २०८३
मासटार-कुरिनटार हुँदै धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालन

फुर्केखोलाको पुल बगाएपछि मासटार-कुरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।

काठमाडौं- रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेँसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ।

फुर्केखोलाको पुल बगाएपछि मासटार-कुरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो।

संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालका अनुसार बाढीले फुर्केखोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्कविच्छेद भएको थियो। त्यसपछि मासटारबाट कुरिनटार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेँसी जोड्ने सडक खुलाएको हो।

हाल साना सवारीसाधनहरू धादिङबेँसीसम्म सञ्चालन हुन थालेका छन्। ठूला सवारीसाधन सञ्चालनको लागी भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको छ।

खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको छ। केही खण्डमा सडक सामान्य अवस्थामा रहेपनि बाढीले वासआउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको छ। ती खण्डमा लेदो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना बनाउने काम भइरहेको छ।

nepal.jpg
सञ्जय नेपाल

‘अप्ठ्यारा खण्डहरूमा समेत ग्राभेल राखेर साना सवारीसाधनका लागि सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ। खोला भएका स्थानमा कल्भर्ट बनाउनुपर्ने अवस्था भएमा ढुंगा मिलाएर त्यहाँबाट सवारीसाधन सहजरूपमा पार हुने व्यवस्था गरिरहेका छौँ। केही स्थानमा ग्राभेल आवश्यक पर्ने देखिएको छ। नजिकै ग्राभेलको स्रोत भेटिएमा त्यसलाई उपयोग गरेर लेदो र हिलो भएका स्थानमा ग्राभेल हाल्दै सवारीसाधनको आवतजावत सहज बनाउने तयारी भइरहेको छ। अहिले दुईवटा मेसिन साइटमै छन् भने अन्य साइटहरूमा पनि आवश्यक उपकरणहरू परिचालन भइसकेका छन्। साना सवारीसाधनका लागि बाटो खुलिसकेको छ। अन्य सवारीसाधनलाई समेत सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ’ उनले भने।

सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक सञ्चालन गर्नको लागि परिचालन गरिएको छ। अन्य क्षतिग्रस्त स्थानमा समेत आवश्यक उपकरण परिचालन गरिएको संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख नेपालको भनाइ छ। 


प्रकाशित : आइतबार, भदौ १४ २०८३१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend