बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दुई हप्ताभित्र वैकल्पिक व्यवस्था गर्दै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बांगियो

आइतबार, भदौ १४ २०८३
दुई हप्ताभित्र वैकल्पिक व्यवस्था गर्दै गल्छी-स्याफ्रुबेँसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बांगियो

सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन। विभागले प्रारम्भिक चरणमा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

काठमाडौं- रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीको तीव्रताका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बांगिएको हो। करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बांगिएको महानिर्देशक जैसीले जानकारी दिए।

जैसीका अनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि-स्ट्रेस्ड ब्रिज हो। बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाइमा उठेको उनले जानकारी दिए।

पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उनको भनाइ छ। यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्न सक्ने अवस्था नरहेको उनले बताए। उनका अनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ। यसका लागि गल्छी-बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उनले जानकारी दिए।

पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ। पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उनले बताए।

नुवाकोटको देवीघाटमा बेलिब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्नेबेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुनःस्थापना गर्ने तयारी रहेको उनले जानकारी दिए।

पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उनले बताए।

‘धेरै लोड पर्‍यो भने स्टपरमा असर पर्न सक्छ। त्यसैले अहिले यसलाई सीमित रूपमा, लाइट भेहिकलका लागि मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ। देवीघाटमा बेलिब्रिज बनेर हेभी भेहिकल आउन थाल्ने बेलासम्म यो पुललाई उचालेर आफ्नो स्थानमा राखिसक्नुपर्छ। यसका लागि आवश्यक टोली खोज्छौँ, नेपालमा पुल उचाल्ने कामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध छन् भने उनीहरूलाई परिचालन गर्छौ नभएमा भारतबाट ल्याएर भएपनि पुल उचाल्नुपर्छ’ उनले भने। 

गल्छी-स्याफ्रुबेँसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको उनले बताए।

jaisi.jpg
 डा. विजय जैसी

बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ। नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशुली नदीमा मिसिएको उनले जानकारी दिए।

बगेको सडकखण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उनको भनाइ छ। उनले रसुवाको सदरमुकाम धुञ्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिए।

बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उनको भनाइ छ। तर मैलुङ-स्याफ्रुबेँसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए।

सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन। विभागले प्रारम्भिक चरणमा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडकमार्ग पहिचान गर्ने काम भइरहेको विभागले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend