बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'धादिङबेँसी जोड्ने फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न सक्ने देखिएन'

आइतबार, भदौ १४ २०८३
'धादिङबेँसी जोड्ने फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न सक्ने देखिएन'

प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ।

काठमाडौं- रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेँसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ।

बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङबेँसी जाने वैकल्पिक सडकमार्ग खोजिएको सडक विभागले जनाएको छ।

फुर्केखोलमा तत्काल बेलिब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।

उनका अनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उनले फुर्केखोलामा तत्काल बेलिब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताए।

तत्कालका लागि बेलिब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भएपनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलिब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उनको भनाइ छ।

यद्यपी पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरुका बारेमा सडक विभागले अध्ययन गरिरहेको उनले जानकारी दिए। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उनले बताए।

bijaya jaisi.jpg
महानिर्देशक डा. विजय जैसी।

प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ।

उनका अनुसार उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने विकल्पमा विभागले अध्ययन गर्नेछ।

पुरानै संरचनालाई प्रयोग गरेर नयाँ डेक माथि राखेर संरचना जोड्न पनि सकिने उनको भनाइ छ। तर त्यसो गर्न नसकिएमा नयाँ पुल पनि बनाउनुपर्ने हुन सक्ने उनको भनाइ छ। स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातयात सञ्चालनमा ल्याएको उनले जानकारी दिए। जैसीका अनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको छ। उक्त सडकलाई तत्काल ग्राभेल गर्ने र सडक आवागमन सहज बनाउने विभागको तयारी रहेको उनले बताए।


प्रकाशित : आइतबार, भदौ १४ २०८३१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend